Shittalpati
पाल्पाका ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको प्रचार गर्न दुई दिने ‘हेरिटेज राइड’ हुँदै

पाल्पा, पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाÞय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पामा दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा) २०८३’ आयोजना हुने भएको छ । पाल्पा साइकलिङ संघको आयोजनामा आगामी मंसिर ५ र ६ गते तेस्रो संस्करणको सम्पदा यात्रा हुन लागेको हो ।

संघले  सोमबार तानसेनमा पत्रकार सम्मेलन गरी यात्राको उद्देश्य, मार्ग र कार्यक्रमबारे जानकारी गराएको छ । संघका महासचिव विज्ञान बज्राचार्यले पाल्पाका ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियानका रूपमा सम्पदा यात्रा आयोजना गर्न लागिएको बताए । उनका अनुसार पहिलो दिन मंसिर ५ गते बिहान ६ः३० बजे तानसेन नगरपालिकाको टुँडिखेलबाट यात्रा सुरु हुनेछ । तानसेनको नारायण टोल, असन टोल, तानसेन दरबार र भगवती मन्दिर हुँदै आर्यभञ्ज्याङ, चिदिपानी, हुमिन तथा पूर्वखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको अवलोकन गर्दै साइकलयात्री निस्दी गाउँपालिकास्थित अम्रिसो बगान काउलेडाँडा पुग्ने छन् ।दोस्रो दिन मंसिर ६ गते बिहान काउलेडाँडाको पर्यटकीय क्षेत्र अवलोकन गरेपछि किर्तिपुर हुँदै रामपुर नगरपालिकासम्म यात्रा गरिनेछ । रामपुरमा दिउँसो ४ बजे कार्यक्रम समापन हुने आयोजकले जनाएको छ । यस वर्षको हेरिटेज राइडमा मेचीदेखि महाकालीसम्मका करिब २०० जना साइकलयात्री सहभागी हुनेछन् । संघका अध्यक्ष रुपेशमान महर्जनका अनुसार यात्रामा ११ जना महिला र १८९ जना पुरुष गरी २०० जनाले सहभागिता जनाउने छन् । सहभागी साइकलयात्रीको उमेर १६ देखि ६१ वर्षसम्म रहेको छ ।

विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको समेत यात्रामा सहभागिता रहनेछ । कार्यक्रम सञ्चालनका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । सम्पदा यात्राको पहिलो संस्करण २०७९ मा तानसेन र पश्चिम पाल्पाका सम्पदालाई समेटेर आयोजना गरिएको थियो । दोस्रो संस्करण २०८२ मा ‘सम्पदा यात्रा’ मूल नारासहित तानसेन दरबारदेखि रामनिहल दरबारसम्म प्रतिस्पर्धात्मक साइकल यात्रा सञ्चालन गरिएको थियो । यसपटक तेस्रो संस्करणमा तानसेनदेखि पूर्वी पाल्पाका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ । तानसेन, रम्भा, पूर्वखोला, निस्दी र रामपुरका सांस्कृतिक, धार्मिक तथा प्राकृतिक आकर्षणलाई उजागर गर्ने यात्राले स्थानीय समुदायका लागि आर्थिक अवसर सिर्जना गर्नुका साथै साइकलमार्फत स्वस्थ र दिगो जीवनशैली प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले पाल्पाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई देशविदेशमा चिनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटनको सम्भावना बोकेर पनि ओझेलमा परेका गन्तव्यको प्रचारप्रसारमा सम्पदा यात्राले सहयोग पु¥याउने उनको भनाइ थियो । आन्तरिक तथा बाÞय पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा भन्ने मूल उद्देश्यसहित आयोजना हुन लागेको कार्यक्रम पाल्पा साइकलिङ संघका अध्यक्ष रुपेशमान महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव विज्ञान बज्राचार्यले गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update