Shittalpati
गुल्मीका विभिन्न ठाउँमा  भिषण आगलागी, नियन्त्रणको प्रयास जारी

पाल्पा, गुल्मीका विभिन्न ठाउँमा शनिबार विहानदेखि भिषण आगलागी भइरहेको छ । जंगल नजिकै रहेका वस्तीमा भिषण आगलागी भइरहेको हो । जिल्लाको इस्मा गाउँपालिका–२ सिदुुङखा, फेदिया, मैनडाँडा क्षेत्रमा भिषण आगलागी भइरहेको स्थानीयले बताएका छन् । रानीबनमा लागेको आगो सिदुङखा गाउँमा फैलिएको हो । सिंगो गाउँमै  आगलागी हुँदा केही घर, गोठ र पशुचौपाया जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजन भुजेलले जानकारी दिए । उनका अनुसार क्षतिको यकिन विवरण भने आएको छैन् ।  

शनिबार बिहानैदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जंगल नजिकै रहेको वस्तीमा आगो आउन थालेपछि प्रहरी, सेना लगायत स्थानीय बासिन्दाहरु वस्तीतर्फ आगो आउन नदिन प्रयासरत रहे पनि हावाहुरीका कारण आगो अझ फैलिने क्रममा छ । आगो नियन्त्रमणका लागि प्र.स.नि. विनय कुमार श्रीवास्तव, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्म हे.क्वा. गुल्मीबाट स.प्र.ना.उ.सन्दिप कार्की र नेपाली सेना सङ्ग्राम सार्दुल गुल्म तम्घासका सहसेनानी विकास जंग रायमाझी लगायतका सुरक्षार्कीको कमाण्डमा टोली उक्त क्षेत्रमा खटिसकेको छ । रेसुङ्गा नगरपालिकाको दमकल समेत त्यहाँ पुगेको छ । जंगलसगैं ति क्षेत्रमा करिब ५०/६० परिवारको बसोवास रहेको छ । प्रहरी, सेना रं स्थानीयले आगो निभाउने प्रयास गरे पनि हावाहुरीका कारण नियन्त्रण प्रयास सफल हुन नसकेको प्रहरीले जनाएको छ ।

अहिले सिदुङखामा लागेको आगो रानीवनमा झरेको छ । मैनाडाँडामा रहेका केही घरहरु समेत उच्च जोखिममा रहेको स्थानीय कमल खत्रीले बताए । उनका अनुसार सिदुङखा, रानीवन, बड्मान तिरबाट आगो फैलिएकाले मैनडाँडा समेत जोखिममा रहेको हो । आगोका कारण फेदियामा समेत भौतिक क्षति पुगेको छ । प्रहरीका अनुसार अगालगीबाट एउटा ट्याक्टर जलेको र दुुई जना घाइते भएका छन् ।  आगालीमा परी ट्याक्टर चालक  ईश्मा गाउँपालिका –१ उजुङका १९  वर्षीय हिमाल राना र  जेसिबि चालक मुसिकोट नगरपालिका –७ पल्टारका २१ वर्षीय प्रेम राना घाइते भएका हुन् । उनीहरुको हात, खुट्टा र अनुहारमा जलेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

यस्तै ईस्मा गाउँपालिका–४ बर्लेघाट सामुदायिक वन स्थित चौया मखन्ने वनमा लागेको आगो बस्तिमा आउदा गोठ र पशुचौपाया जलेका छन् ।  यस्तै गुल्मीदरबार गाउँपालिका –३ उरिङ्डाडास्थित सितल सामुदायिक बनमा पनि  आगलागी भएको  छ । अहिले उक्त आगलागी बस्तिको नजिक आउन लागेको र नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।  शुक्रबार बिरबासस्थित रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको थियो । जिल्लाका अन्य ठाउँहरुमा पनि आगालागी भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update