पाल्पा, पाल्पामा पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । माथागढी गाउँपालिका–३, कसेनी भैसीकट्टामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
मृत्यु हुनेमा ७५ वर्षीय लिलबहादुर घर्तिमगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए । आइतबार बिहान गएको पहिरोले लिलबहादुर घर्तिमगरको घर पूर्णरूपमा पुरिएको थियो । घरभित्र सुतिरहेका अवस्थामा पहिरोले पुरिएपछि उनीहरू बेपत्ता भएका थिए । सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा उद्धार टोलीले खोजी गर्ने क्रममा तीनै जनाको शव पहिरोबाट निकालेको प्रहरीले जनाएको छ ।
यसअघि पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो । चिदीलाई घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पा पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा चिकित्सकले सोमबार बिहान उनलाई मृत घोषणा गरेका थिए । सारुको भने पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको थियो ।
लगातारको बर्षातको कारण पाल्पामा भएको क्षतीको विवरण संकलन गर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अविरल बर्षातको कारण रुरु क्षेत्र धाम रिडी, प्रेमको प्रतिक रानीमहल क्षेत्र पूर्ण रुपमा डुबानमा परेका छन् । पाल्पाको अन्नको भण्डार माडीफाँट पनि डुबानमा परेको छ ।


