Shittalpati
अविरल वर्षाले तानसेनको खानेपानी सेवा प्रभावित, आपूर्तिमा ढिलाइ हुने

पाल्पा, अविरल वर्षाका कारण तानसेनको खानेपानी सेवा प्रभावित भएको छ । लगातारको वर्षाका कारण खानेपानीका मुहान तथा पम्पिङ स्टेसन आसपास पहिरो गएपछि खानेपानी सेवा प्रभावित बन्न पुगेको हो ।

तानसेन खानेपानी उपभोक्ता समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै खानेपानीका विभिन्न स्रोत तथा पम्पिङ स्टेसनमा वर्षाका कारण क्षति पुगेकाले नियमित सेवा प्रभावित बन्न पुगेको जनाएको हो । समितिले क्षति पुगेका ठाउँहरुमा मर्मतको काम भइरहेकाले खानेपानी आपूर्तिमा केही समय ढिलाइ हुन सक्ने विज्ञप्ति र सूचनामार्फत उपभोक्तालाई जानकारी गराएको छ ।

समितिका  अध्यक्ष मोहन प्रसाद श्रेष्ठका अनुसार लगातारको वर्षाका कारण खानेपानीका मुहान तथा पम्पिङ स्टेसन आसपास पहिरो गएको छ । केही पम्पिङ स्टेसनमा क्षति पुगेको, वयल तथा ट्रान्सफर्मर  पुरिएको अवस्थामा रहेकाले तत्काल पानी संकलन तथा पम्पिङ गर्न कठिनाइ भएको बताए ।

उनले भने “प्राकृतिक विपद्का कारण उत्पन्न असहज परिस्थितिमा समितिको सिङ्गो टिम, प्राविधिक तथा कर्मचारीहरू क्षतिको अवस्था पहिचान, सरसफाइ, मर्मत तथा खानेपानी सेवा यथाशीघ्र सञ्चालन गर्न निरन्तर खटिरहेका छन् ।” क्षतिको प्रकृति र मर्मतसम्भारको अवस्थाअनुसार खानेपानी सेवा पूर्ण रूपमा नियमित हुन केही समय लाग्न सक्ने उनले बताए । यसबाट उपभोक्तामा पर्न गएको असुविधाप्रति समितिले क्षमायाचना समेत गरेको छ । सेवा सुचारु नहुँदासम्म उपलब्ध पानीको उचित व्यवस्थापन तथा सदुपयोग गर्न समितिले सबै उपभोक्तालाई आग्रह गरेको छ । प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिलाई बुझिदिन आग्रह गर्दै समितिले क्षति न्यूनीकरण तथा खानेपानी सेवा यथाशीघ्र नियमित गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update