Shittalpati
पशु दिवसको सन्दर्भ

आज अक्टोबर ४ तारिक विश्व पशु पंक्षि दिवस हो । यो दिवस सन् १९३१ देखि मनाइदै आए पनि नेपालमा सन् २००८ बाट मनाउन थालिएको पाइन्छ । विभिन्न संघ सस्थाको आयोजनामा विविध कार्यक्रमहरुको साथ यो दिवस मनाउने गरेको पाइन्छ । विविध पशु पंक्षि भएको तथा पशु पंक्षिको पूजा गर्ने हाम्रो परम्परामा यस दिवसको छुट्टै महत्व रहेको छ । दिवस केवल पशुप्रति माया र दया देखाउने अवसर मात्र होइन, मानिस र पशुबीचको सम्बन्ध, पशु कल्याण तथा जिम्मेवार व्यवहारबारे सोच्ने महत्वपूर्ण दिन हो । पृथ्वीमा मानिससँगै अन्य जीवजन्तुको पनि बाँच्ने अधिकार छ भन्ने बोध गराउनु यस दिवसको मूल सन्देश हो ।

मानव सभ्यताको विकाससँगै पशुहरू मानिसको जीवनका अभिन्न सहयात्री बन्दै आएका छन् । कृषि, यातायात, खाद्य उत्पादनदेखि भावनात्मक साथसम्म पशुहरूको योगदान महत्वपूर्ण छ । तर विडम्बना के छ भने मानिसकै गतिविधिका कारण धेरै पशुहरू हिंसा, उपेक्षा, अवैध व्यापार, बासस्थान विनाश र विभिन्न किसिमका शोषणको सिकार भइरहेका छन् । नेपालमा पनि पशु कल्याणका सवालहरू कम छैनन् । सडकमा छाडिएका कुकुर, बिरालो तथा अन्य जनावरको अवस्था, पशुमाथि हुने क्रूर व्यवहार, अस्वस्थ अवस्थामा गरिने पशुपालन तथा वन्यजन्तुको बासस्थानमाथिको बढ्दो दबाबले हाम्रो संवेदनशीलतामाथि प्रश्न उठाउँछ । पशु संरक्षणलाई केवल केही व्यक्ति वा संस्थाको जिम्मेवारी ठान्ने प्रवृत्तिले समस्या अझ जटिल बनाएको छ । पशु कल्याणको विषय भावनासँग मात्र जोडिएको विषय होइन, यो सार्वजनिक स्वास्थ्य, वातावरण र जिम्मेवार समाज निर्माणसँग पनि सम्बन्धित छ । पशुप्रति गरिने व्यवहारले हाम्रो मानवीय चेतना र सभ्यताको स्तरसमेत प्रतिबिम्बित गर्छ ।

त्यसैले पशुलाई अनावश्यक पीडा नदिने, जिम्मेवार रूपमा पाल्ने, बिरामी वा घाइते पशुको उपचारमा सहयोग गर्ने र वन्यजन्तुको प्राकृतिक बासस्थान संरक्षण गर्ने संस्कार विकास गर्न आवश्यक छ । सरकारले पशु कल्याणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनसँगै स्थानीय तहमा उद्धार, उपचार, नसबन्दी तथा आश्रय व्यवस्थापनका कार्यक्रमलाई व्यवस्थित बनाउनुपर्छ । विद्यालय तहदेखि नै बालबालिकालाई पशु तथा वातावरणप्रति करुणा र जिम्मेवारीको शिक्षा दिनुपर्छ । यसो भने मात्र हरेक वर्ष मनाइँने दिवसको सान्दर्भिकता बढ्दै जान्छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update