Shittalpati
सुरक्षित घर पाएपछि फर्कियो एकल आमाहरुमा खुसी

पाल्पा, जिल्लाको रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाले श्रीमान् गुमाउनुको गहिरो पीडा र त्यसमाथि भूकम्पले चर्किएको जीर्ण घरमा १६ वर्ष मुनीका बच्चा च्यापेर लामो समय कष्टकर दिन विताइन् । हरेक वर्खामा पानी र हुरीबतासमा ओतकै चिन्ताले उनलाई सताउँथ्यो ।

तर, अहिले हातमा नयाँ सुरक्षित घरको साँचो पर्दा उनको खुसी फर्किएको छ ।  अमेरिकी संस्था ‘निवास’ को सहयोग, टुकी फाउन्डेसन र रामपुर नगरपालिकाको आर्थिक साझेदारीमा उनका लागि सुरक्षित आवास निर्माण गरी घरआँगनमै पुगेर साँचो हस्तान्तरण गरेपछि खुसी छाएको हो । भूकम्पले चर्किएको पुरानो घरमा बस्दै आएकी उनलाई अब भने त्यही असुरक्षित घरमा रात काट्नुपर्ने बाध्यता हटेको छ । नयाँ घरको साँचो हातमा पर्दा उनको अनुहारमा देखिएको खुसीले लामो समयदेखिको पीडा केही हलुका भएको अनुभूति हुन्थ्यो । राना जस्तै यहाँका विपन्न एकल आमाहरूका लागि सुरक्षित घर प्रदान गरेसँगै उत्साह छाएको छ । रामपुर नगरपालिका–२ खयरबोटकी बन्दना विश्वकर्मा र वडा नं. ६ माझटोलकी गनमाया घर्तीले पनि भूकम्पप्रतिरोधी चिटिक्क परेका दुई कोठे नयाँ घर र शौचालय पाएपछि जीवनमा नयाँ उज्यालो छाएको बताइन् । “चर्किएको पुरानो घरमा डरैडरमा दिन काट्नु परेको थियो, अहिले चिटिक्क परेको आफ्नै सुरक्षित घर पाउँदा खुसीको सीमा नै छैन,” घरको ताला–साँचो बुझ्दै गनमाया घर्तीले भनिन् । 

बन्दना विश्वकर्माले पनि घर पाएपछि खुसी व्यक्त गर्दै सहयोग गर्ने संस्था र नगरपालिकाप्रति आभार व्यक्त गरेकी छन् । घर हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले श्रीमान् गुमाएका र सहाराविहीन महिलालाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले फाउण्डेशनसँगको सहकार्यमा घर निर्माण गरि  साँचो बुझाईएको बताए । उनका अनुसार नगरपालिकाले विपन्न परिवारसँगै सहाराविहीन नागरिकको आवश्यकता पहिचान गरी सहयोग गर्दै आएको छ । तीन परिवारका लागि घर निर्माण भइसके पनि आवश्यकता भने अझै बाँकी रहेको मेयर थापाको भनाइ छ । आगामी वर्षका लागि पनि थप घर निर्माणको प्रक्रिया अघि बढाइएको उनले बताए । मेयर थापाले घर मात्रै भएर परिवार चलाउन सहज नहुने भन्दै आवाससँगै उनीहरूलाई आत्मनिर्भर बनाउन स्वरोजगारका कार्यक्रममा जोड्ने योजना समेत नगरपालिकाले बनाएको उल्लेख गरे । 

उनले बालबालिकाको शिक्षादेखि परिवारको आयआर्जनसम्मका विषयमा  नगर सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । एउटा घर निर्माणमा ८ लाख १४ हजार ६ सय ८० रुपैयाँ १२ पैसा बराबर खर्च भएको टुकी फाउण्डेशनका कार्यकारी निर्देशक शिला सेनले बताइन् ।  रामपुर नगरपालिकाले प्रतिघर २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ भने बाँकी खर्च फाउण्डेशनले व्यहोरेको उनको भनाई छ । फाउण्डेशनले आवास निर्माणमा ६० प्रतिशत र पालिकाले ४० प्रतिशत साझेदारी गर्ने गरी विभिन्न स्थानमा काम गर्दै आएको जनाएको छ । गास, बास र कपासको समस्यामा रहेका एकल आमा तथा पछाडी पारिएका समुदायको आवश्यकता पहिचान गरी फाउण्डेशनले कार्यक्रम सञ्चालन गर्दै आएको सेनले बताए । घर हस्तान्तरणपछि तीनै परिवारको जीविकोपार्जनमा सहजता ल्याउन उनीहरूले रोजेको व्यवसाय सञ्चालनका लागि प्रतिपरिवार ३० हजार रुपैयाँ पनि सहयोग गर्ने योजना पनि फाउण्डेशनले अघि सारेको छ । नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले श्रीमान् गुमाउँदाको पीडामाथि ओतको समस्या झेलिरहेका आमाहरूका लागि यो प्रयास ठूलो राहत बनेको बताइन् । रामपुर नगरपालिका –६ का वडा अध्यक्ष दिवाकर देवकोटा, वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना र वडा नं. २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले आफ्ना नागरिकहरु खुसी हुँदा आफुहरुमा पनि खुसी मिलेको बताए ।
 

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update