Shittalpati
पाल्पामा स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ

पाल्पा, जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको सम्मानजनक बिदाइ गरेको छ । उसले विहीबार विश्व औलो दिवसको अवसरमा ६० वर्ष उमेर पुगेका स्वयंसेवीकाहरुलाई सम्मान सहित बिदाइ गरेको हो । 

स्वास्थ्य कार्यालयले ११ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई दोसल्ला, प्रमाणपत्रले सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खानाल, समन्वय अधिकारी जनार्दन अधिकारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरी, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की लगायतले संयूक्त रुपमा स्वयंसेवीकाहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।  उनीहरुलाई सम्मान गर्दै प्रमुख अतिथि टंकनाथ खनालले स्वास्थ्य र सामाजिक क्षेत्रमा स्वसंसेवीकाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले औलोबाट बच्न वातावरणमैत्री बन्न समेत सबैलाई आग्रह गरे । तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्कीले स्वयंसेवीकाहरुलाई नगर सरकारले विशेष ध्यान दिएको बताए । पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले समाजमा स्वयंसेवीकाहरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरुलाई अवकाशपछि तीनै तहका सरकारले उचित किसिमले हेर्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका सञ्जाल तानसेन नगरकी संयोजक तुम्ला ब्रजाचार्य, सम्मानित स्वयंसेवीका सीता आचार्य लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा स्वयंसेवीकाहरु तुलसा देवी कुुंवर, विमला थापा, शिवकुमारी कुंवर, रत्न कुमारी कुंवर,  दुर्गादेवी थापा, रुक्मादेवी थापा, मथुरा पाठक, सिता आचार्य,टिकामाया गाहा, पनिसरा सोती, कमला उपाध्याय शर्मालाई सम्मान गरिएको थियो ।  स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीको अध्यक्षता, टुक प्रसाद पोखरेलको स्वागत, टिकाराम अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update