Shittalpati
‘पाल्पाका भैरवनाथ’ पुस्तक : एक संक्षिप्त परिचय

गणेश ज्ञवाली

लेखकद्वय राम ज्ञवाली र नवराज ज्ञवालीद्वारा लेखिएको ‘पाल्पाका भैरवनाथ’ नामक पुस्तक हालसालै प्रकाशित भएको छ । यो पुस्तक भैरवनाथ मन्दिर व्यवस्थापन समिति, रिब्दीकोट–४, पाल्पाले प्रकाशन गरेको हो । खोज अनुसन्धान विधाको यो कृतिको प्रकाशन मिति २०८० मंसिर १९ (भैरव कृष्णाष्टमी) रहेको छ । यो पुस्तक १००१ प्रति छापिएको छ । भैरवनाथ मन्दिरका संस्थापक पराक्रमी राजा मणि मुकुन्दसेन एवं भैरवप्रति श्रद्धा, आस्था र विश्वास राख्नु हुने सम्पूर्ण भक्तजनहरुमा यो पुस्तक समर्पण गरिएको छ । पुस्तकको प्रकाशनमा २० वटा शुभकामनाहरु प्राप्त भएका छन् ।  सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सम्माननीय मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीज्यूबाट समेत प्राप्त शुभकामनाले पुस्तकको गरिमालाई थप वृद्धि गरेको छ ।

‘पाल्पाका भैरवनाथ’ पुस्तकप्रति विश्लेषणात्मक अवलोकन शीर्षक राखी ख्यातीप्राप्त साहित्यकार, इतिहासविद् एवं संविधानसभा सदस्य श्री सूबसेनज्युले यो पुस्तकको निकै गरिमायुक्त भूमिका लेख्नु भएको छ । भूमिका लेखनमा उहाँले प्रस्तुत पुस्तकको समग्र झलक नै प्रस्तुत गर्नु भएको छ । उहाँले यस पुस्तकलाई ‘महाग्रन्थ’ नै मान्नु भएको छ । जम्मा ५३४ं७० पेज भएको, सेनकालीन पाल्पाको इतिहास, भैरवनाथ मन्दिरको इतिहास, धर्म संस्कृति सम्बन्धी विशद् चर्चापरिचर्चा तथा विविध सर्जकहरुका विचारहरु समेत समेटिको यो कृति साँच्चै नै बृहद् ग्रन्थ बन्न सफल भएको छ । भूमिकामा सूबसेनज्यूले भन्नु भएको छ, “यसरी लेखकद्वय द्वारा लिखित पाल्पाको भैरवनाथ एउटा गहकिलो ग्रन्थ हो । यसमा पालपा पहिले र पछि हालसम्मकै पाल्पाली जीवन दर्शनको साङ्गोपाङ्गो रुप आएको छ । पाठक एवं भावी पुस्तको लागि कामधेनु गाई बनेको छ । गौमाता बनेको छ । जसले जे चाह्यो, त्यही पाउने छ । यसर्थ लेखकद्वय गहनस्तरका गुरु बन्नु भएको छ । उहाँहरुको साधनामा फुलेका फूलका रुपमा सुनौलो ग्रन्थको सिर्जना भएको छ ।” उहाँले थप लेख्नु भएको छ “यसले पाल्पाली संस्कृति, इतिहास र यसको व्यापक रुप नेपाल राष्ट्रको पहिचान अस्तित्व र व्यक्तित्वलाई युग युगसम्म रहने गरी अजम्वरी बनाएको देखिन्छ ।” मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले पुस्तकका प्रति अत्यन्तै महत्वपूर्ण मन्तव्य व्यक्त गर्नु भएको छ । आफ्नो कार्यकालमा केही गरौँ भन्ने हुटहुटीले गर्दा ५०० वर्ष पुरानो भैरवनाथ मन्दिरको इतिहास लेखाउन उहाँ उत्प्रेरित हुनु भयो । उहाँमा सकारात्मक सोच र दृढ इच्छाशक्ति  नभएको भए यो कृति यो रुपमा आउने वातावरण पक्कै बन्ने थिएन । उहाँ भन्नु हुन्छ, ‘आफ्नो कार्यकालमा सम्भव हुने विशेष कर्म के हुन सक्ला भन्ने विषयमा मन्थन गर्दा, गहिरिएर सोच्दा ऐतिहासिक पुस्तक लेखन प्रकाशन गर्न सके त्यो कर्म साँच्चिकै, अर्थपुर्ण र स्मरणीय हुने कुरा मैले सुझाव र सल्लाहको रुपमा पाएँ ।’ वास्तवमा यही कुरानै यस कृतिको रचना गर्भ हो भनी मान्न सकिन्छ । यसैगरी मन्दिरका व्यवस्थापक मीनबहादुर वुढाथोकीले पनि पुस्तकको प्रकाशकीय लेख्नु भएको छ र यस पुस्तकलाई भैरवनाथ मन्दिर चिनाउने महत्वपूर्ण दस्तावेजको रुपमा मान्नु भएको छ ।

पुस्तकमा २४ वटा परिच्छेदहरु छन् । सन्दर्भ सामग्रीको सुची र परिशिष्ट खण्ड अन्तमा दिइएको छ । पहिलो परिच्छेदमा पाल्पा जिल्ला तथा रिब्दीकोटको संक्षिप्त परिचय दिइएको छ । दोश्रो परिच्छेदमा नेपालका मठमन्दिर, तीर्थ, मेला, जात्रा र चार्डपर्व बारेमा उल्लेख छ । तेश्रो परिच्छदेमा पाल्पाका केही मन्दिरहरु बारे, चौथोमा धर्म, मन्दिर र आस्थाका सम्बन्धमा तथा पाँचौँमा तन्त्रशास्त्र र यसको महत्व बारे चर्चा गरिएको छ । छैठौँ  परिच्छेदमा भैरव र नाथको चिनारी विशेषता एवं स्वरुप बारेमा, सातौँ परिच्छेदमा विविध भैरवका विशेषता बारेमा तथा कालभैरव र बटुक भैरवको चिनारी एवं विशेषता आठौँ परिच्छेदमा वर्णित छ । मच्छिन्द्रनाथ, गोरखनाथ र नवनाथको बारेमा नवौँ अध्यायमा उल्लेख छ । भैरवनाथ मन्दिरका स्थापनाकर्ता राजा मणि मुकुन्दसेनको जीवन र कर्मको इतिहास दशौँ परिच्छदेमा दिइएको छ ।

एघारौँ परिच्छेद यस पुस्तकको मूल परिच्छेद मान्न सकिन्छ । ‘पाल्पाका भैरवनाथ’ यसको शीर्षकबाटै पुस्तकको नामकरण गरिएको छ । मन्दिर स्थापना सम्बन्धी विभिन्न कथाहरु, मन्दिरको भौगोलिक जानकारी र विशेषता, पूजा पद्धती र भाकलको मनोविज्ञान आदि बारे सविस्तार व्याख्या विश्लेषण गरिएको छ । बाहौँदेखि सत्रौँ परिच्छदेसम्म मन्दिरमा चढाइने रोट, बली परम्परा, मन्दिरका अभिलेखहरु, कलाकृतिहरु, मन्दिरमा गरिने पाठ तथा मन्त्र जप, मन्दिर परिसर र सेरोफेरो बारे बताइएको छ । अठारौँदेखि  वीसौँ परिच्छेदसम्ममा पूर्णकोट, कोत्रेडाँडा, भारकोट टुँडिखेल, सामाकोट कीटको पहाड आदि मन्दिर सेरोफेरोका चर्चित स्थानहरु, मन्दिरको विविध पक्षीय महत्वका बारेमा व्यापक चर्चा गरिएको छ । एक्कासौँ र बाइसौँ परिच्छेदमा  मन्दिरका बारेमा अन्य सर्जकहरुका रचनाहरु समेत समावेश गरिएका छन् । गीत, भजन, मुक्तक, हाइकु, गद्यकविता, पद्यकविता, फागु गीत, तीज गीतमा विभिन्न सर्जकहरुले मन्दिरका बारेमा गरेका सिर्जनाहरु पेश गरिएको छ । त्यस्तैगरी विभिन्न लेखकहरु, समीक्षकहरु, इतिहासविद्, कथाबाचक, प्रशासकीय व्यक्तित्व, मिडियाकर्मी, राजनीतिक व्यक्तित्व, जनप्रतिनिधि एवं स्थानीय बुद्धिजीवीहरुका कलमबाट समेत मन्दिरका बारेमा विविध रचनाहरु प्रस्तुत भएका छन् । तेइसौँ र चौबीसौँ परिच्छेदमा इतिहासदेखि वर्तमानसम्म मन्दिर व्यवस्थापन समितिको गठन,पदाधिकारीहरुको नामावली, विविध समितिले गरेका निर्माण कार्यहरु, विविध कालखण्डमा गरिएका महोत्सव, प्रकाशन र सामाजिक योगदानहरु, मन्दिरको गुरुयोजना, आम्दानी खर्च विवरण तथा भक्तजनहरुका लागि गरिएको मार्गदर्शन समेत प्रस्तुत छ ।

यो पुस्तक लेखन र सम्पादन गर्दा प्रयोग गरिएका सन्दर्भ सामग्रीहरुको सूची समेत पेश भएको छ । पुस्तक तयारी गर्दा नेपाली भाषाका ७६ वटा पुस्तकहरु र ६ वटा लेखहरु, अंगे्रजी भाषाका ९ वटा पुस्तकहरु र ६ वटा लेखहरुबाट सन्दर्भ सामग्री जुटाइएको देखिन्छ । कैयौँ पुराना अभिलेखहरुको समेत अध्ययन गरिएको पाइन्छ । यो पुस्तक तयार गर्दा निक्कै ठुलो मिहनेत र अध्ययन गर्नु परेको प्रमाण यसैबाट मिल्दछ ।  मन्दिरसँग सम्बन्धित ४८ वटा रंगीन तस्वीरहरु पुस्तकको अन्तिम पृष्ठहरुमा छापिएका छन् । सिर्जना तथा लेख उपलब्ध गराई सहयोग गर्नु हुने ५४ जना र विविध प्रकारले सहयोग गर्नु हुने ५० जना व्यक्तित्वहरुको सूचि समेत उल्लेख छ ।

 प्रस्तुत पुस्तक भैरवनाथ मन्दिरको एकसरो वर्णन होइन । यो इतिहासको पुस्तक हो, धर्मशास्त्र र संस्कृतिको पुस्तक पनि हो । यसमा हिन्दु धर्मका विभिन्न शाखा, प्रशाखाहरुको बारेमा ज्ञान प्रदान गरिनुका साथै बौद्धधर्मका महायान, वज्रयान, सहजयान आदि शाखाहरुमा समेत प्रस· अनुसार वर्णन गरिएको भेटिन्छ । मन्दिरको विकासमा विविध समयमा योगदान गर्नेहरुको विवरण पनि यसमा पाइन्छ । इतिहास लेखनमा जश भन्दा बढी अपजश पनि मिल्न सक्दछ । पुस्तकमा ‘म कहाँ छु ?’ भनेर खोज्नेहरुले यसको प्रशान्त महासागरीय गरिमालाई बुझ्न सक्दैनन् । यो आकार र आयाममा पुस्तक लेखिदा पक्कै पनि केही कसरमसरहरु  भेटिन्छन्, त्यसलाई आगामी संस्करणमा हटाउनु पर्दछ । सेनकालदेखि आजसम्मको पाल्पाको इतिहास, संस्कृति र भूगोल, भैरवनाथ मन्दिर र भैरव देवताको बहुआयामिक खोज र अन्वेषण, हिन्दु धर्म र  दर्शनको गहिराई यस पुस्तकमा पाउन सकिन्छ । यी चीजहरु पाठकका निम्ति अमूल्य रत्न हुन् । यो पुस्तक समाज र राष्ट्रका निम्ति एक बहुमूल्य उपहार हो, यद्यपि व्यक्ति अनुसार आ–आफ्नै ठम्याइ रहलान् । लेखकको विशद् ज्ञान र मेहनत एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्षको संकल्पको त्रिवेणीमा हामीहरुलाई यो मूल्यवान ग्रन्थ प्राप्त भएको छ । लेखक र प्रकाशकलाई साधुवाद ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update