पाल्पा, नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन तथा तल्लो तहका अधिवेशन सम्पन्न गर्न खटाएको केन्द्रीय प्रतिनिधिको सूचीमा पाल्पाबाट आफ्नो नाम समावेश भएपछि कांग्रेस नेता कृष्ण बस्यालले आफू कुनै पक्ष वा समूहमा नरहेको स्पष्ट पारेका छन् ।
शितलपाटी डटकमसँग कुरा गर्दै नेता बस्यालले आफ्नो नाम इतर समूहको केन्द्रीय प्रतिनिधिको सूचीमा समावेश भएको विषयमा आफू स्वयं आश्चर्यमा परेको बताए । उनले आफू काँग्रेसभित्र कुनै गुट वा पक्षभन्दा पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने पक्षमा रहेको स्पष्ट पारे ।
बस्यालले भने “म मेलमिलाप, सहकार्य र समन्वयबाट पार्टीलाई एक बनाएर लैजाने पक्षमा छु । इतर पक्षबाट अधिवेशनहरू सम्पन्न गर्न खटाइएका केन्द्रीय प्रतिनिधिको सूचीमा मेरो नाम राखिएको रहेछ । त्यसप्रति भ्रममा नपर्न यहाँका पार्टीका साथीहरूलाई यही मिडियामार्फत आग्रह गर्दछु, ।”
नेता बस्यालले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आफू कुनै पक्ष वा समूहको भन्दा पनि एउटै काँग्रेस बनाउने दिशामा रहेको बताए । उनले पार्टीभित्र देखिएको विवादको समाधानका लागि अदालतको निर्णयलाई सबै नेताहरूले सम्मान गर्नुपर्ने धारणा राखे । “अदालतले गरेको निर्णयलाई पार्टीका नेताहरूले मान्नुपर्छ । हामी पनि त्यही पक्षमा छौं,” उनले भने । बस्यालले कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ गतेदेखि शुरू हुन लागेकाले कांग्रेसका क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई समेत अधिवेशनमा समर्थन र सक्रिय सहभागिता जनाउन अनुरोध गरेका छन् ।


