Shittalpati
तानसेन क्याम्पसले मनायो ३७ औँ वार्षिक दिवस तथा साधारण सभा

पाल्पा, जिल्लाको पहिलो सामुदायिक क्याम्पस  तानसेन बहुमुखी क्याम्पसले ३७ औँ वार्षिक दिवस तथा साधारण सभा मनाएको छ । २०४७ असार १९ गते त्रिभुवन बहुमुखी क्याम्पसको पुरकको रुपमा स्थापना भएको क्याम्पसले  शनिबार एक औपचारिक कार्यक्रम गरी दिवस तथा साधारण सभा मनाएको हो ।

सभाको प्रमुख अतिथि  तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले जिल्लाको शैक्षिक विकासमा तानसेन बहुमुखी क्याम्पसले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए । पछिल्लो समय सामुदायिक क्याम्पस सञ्चालनमा विभिन्न चुनौती देखिएको उल्लेख गर्दै उनले नगर सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । नगर प्रमुख श्रेष्ठले नगरभित्रका क्याम्पसको आवश्यकताअनुसार सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भेषराज नेपालले क्याम्पस व्यवस्थापनमा कुुनै पनि समस्या नरहेको तर विद्यार्थी पलायन हुुने प्रवृत्तिले क्याम्पस सञ्चालनमा समस्या सिर्जना भएको बताए । अहिलेको राष्ट्रिय समस्या भएकाले कसरी विद्यार्थी टिकाउने र वृद्धि गर्ने भन्ने विषयमा क्याम्पस व्यवस्थापन समिति अत्यन्त चिन्तित रहेको उनले धारणा व्यक्त गरे । अध्यक्ष पन्तले शैक्षिक संस्थालाई जिवन्त राख्न सबैको सहयोग आवश्यक रहेको बताए ।

पब्लिक प्राध्यापक संघ पाल्पाका सभापति मुरारी काफ्लेले क्याम्पसमा पूर्णकालीन शिक्षकको व्यवस्था गर्न आग्रह गर्दै शुल्क निःशुल्क गर्दैमा मात्र विद्यार्थी संख्या नबढ्ने बताए । उनले शैक्षिक गुणस्तर वृद्धि गर्न सके मात्र विद्यार्थी आकर्षित गर्न सकिने धारणा राखे । माण्डव्य बहुमुखी क्याम्पसका प्रमुख रुद्र बस्यालले सामुदायिक क्याम्पसको प्रमुख चुनौतीका रूपमा विद्यार्थी संख्या घट्दै जानुलाई औँल्याए । तल्लो तहदेखि माथिल्लो तहसम्मका सबै पक्षले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने भन्दै उनले विद्यार्थीलाई उच्च शिक्षाका लागि बाहिर जानबाट रोक्ने वातावरण निर्माण गर्नुपर्ने बताए । त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि दामोदर घिमिरेले जिल्लाका क्याम्पसहरूको शैक्षिक अवस्था सुधारका लागि स्थानीय सरकारसँग समन्वय गरी बहस र छलफल अघि बढाउनुपर्ने बताए ।  क्याम्पसका संस्थापक तथा पूर्व क्याम्पस प्रमुख रामेश्वर बजिमयले क्याम्पसका संस्थापकहरूलाई समेत सहभागी गराएर शैक्षिक गुणस्तर अभिवृद्धिका विषयमा नियमित छलफल गर्न आग्रह गरे ।

पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले पनि सामुदायिक क्याम्पसले भोगिरहेको प्रमुख समस्या विद्यार्थी संख्या घट्नु रहेको बताए । उनले क्याम्पसको सुधारका लागि नीतिगत रूपमा नयाँ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिरमान सिंहले पाल्पाको शैक्षिक विकासका लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उपप्राध्यापक रामप्रसाद ढकालले सामुदायिक क्याम्पसहरुको विकासमा अन्य जिल्लाका स्थानीय तहले गरेको नमूना कामको यहाँका स्थानीय सरकारले पनि अनुसरण गर्नुपर्ने बताए । कार्यक्रम स्थानीय तथा सहयोग दाता भविन्द्र गौतम, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, विद्यार्थी अनुसा सारु लगायतले सामुदायिक क्याम्पसमा घट्दै गएको विद्यार्थी संख्या, शैक्षिक गुणस्तर सुधार तथा क्याम्पसको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

क्याम्पस प्रमुख पुष्करराज रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा क्याम्पसलाई सामुदायिक शैक्षिक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारे । उनले क्याम्पसमा प्राविधिक तथा प्रविधिमैत्री सीपमूलक शिक्षा विस्तार गर्ने बताए । विद्यार्थी संख्या वृद्धि गर्न आकर्षक कार्यक्रमसहित रणनीति तय गरिने, कम्प्युटर प्रयोगशाला, पुस्तकालय तथा ई–लाइब्रेरीलाई थप प्रभावकारी रूपमा सञ्चालन गरिने क्याम्पस प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार साधारण विषयसँगै प्राविधिक तथा सीपमूलक कक्षा सञ्चालन गर्ने, व्यवस्थापन र मानविकी संकायको स्नातकोत्तर तहमा थप कक्षा सञ्चालन गर्ने योजना रहेको छ । त्यस्तै विद्यार्थीका लागि छात्रावास तथा प्राध्यापकका लागि आवास गृह निर्माणका लागि पहल गरिने उनले बताए । क्याम्पस प्रमुख रेग्मीले आर्थिक वर्ष २०८२/०८३ को ८१ लाख ९५ हजार ५१४ रुपैयाँ बराबरको आम्दानी–खर्च विवरण समेत प्रस्तुत गरका थिए ।

 क्याम्पसले सोही अवसरमा क्याम्पसको विकास तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । पुनराम घिमिरेद्वारा स्थापित ‘पेरी प्राध्यापक सम्मान’ पुरस्कारबाट सहायक क्याम्पस प्रमुख अरुण ज्ञवाली सम्मानित भए । त्यस्तै क्याम्पसको संस्थागत विकासमा योगदान पुर्‍याएको भन्दै क्याम्पसका संस्थापक तथा पूर्व क्याम्पस प्रमुख रामेश्वर बजिमय र पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीलाई सम्मान गरिएको थियो ।  कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भेषराज नेपालको अध्यक्षता, प्राध्यापक संघका अध्यक्ष श्रीधरकुमार उपाध्यायको स्वागत, सहकायक क्याम्पस प्रमुख अरुण ज्ञवालीको सञ्चालनमा  भएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update