पाल्पा, सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले पाल्पामा प्रभावकारी बन्दै गएको छ । यो सेवा मार्फत सरकारी कार्यालयका महत्वपूर्ण कागजात तथा सामग्री एक स्थानबाट अर्को स्थानमा पठाउन सहज, सुरक्षित र भरपर्दो बन्न थालेको हो ।
सरकारी कार्यालयहरूबाट पठाइने चिठीपत्र, प्रशासनिक कागजात, फाइल तथा अन्य आवश्यक सामग्री सम्बन्धित कार्यालयसम्म पुर्याउन हुलाक सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसअघि सरकारी कार्यालयका महत्वपूर्ण कागजात पठाउन कर्मचारीमार्फत पठाउने, निजी कुरियरको प्रयोग गर्ने वा अन्य वैकल्पिक माध्यम अपनाउने गरिन्थ्यो । तर हुलाकमार्फत सरकारी कुरियर सेवा सञ्चालन भएपछि सरकारी निकायबीच कागजात आदान–प्रदान गर्न सहज भएको सेवाग्राहीको भनाइ छ । हुलाक सेवा विभागले सरकारी सेवा वितरण प्रणालीलाई ‘डिजिटल’ र व्यवस्थित बनाउने प्रयासस्वरूप राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्याउने कार्य गरिर्दै आएको जिल्ला हुलाक कार्यालय पाल्पाका प्रमुख अर्जुन चौधरीले बताए । “हामीले यो सेवा सुरु गरेपछि अहिले नागरिकले सरकारी कागजात लिन कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको छ”, उनले भने । हुलाक विभागले निजी क्षेत्रका सामग्री ढुवानी गर्ने विषयमा पनि छलफल अघि बढाएको प्रमुख चौधरीले बताए ।
यस सेवाबाट जिल्ला सदरमुकामबाट टाढा रहेका सेवाग्राहीहरुले राहदानी लिनका लागि मात्र सदरमुकामसम्म आउनुपर्ने झन्झटबाट मुक्ति मिलेको र समय तथा स्रोतको बचत पनि भएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले हुलाकमार्फत डेलिभरी गर्न चाहने इच्छुक सेवाग्राहीबाट छुट्टै विवरण सड्ढलन गरी छपाइ भएर आएका राहदानी प्रशासन कार्यालयले हुलाक कार्यालयमा हुलाक वस्तुकै रुपमा दर्ता गराएपश्चात् हुलाक कार्यालयले हल्कारामार्फत सम्भव भए सोही दिन नै डेलिभरी गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख चौधरीले बताए । सेवा सुरु भएयता हालसम्म यातायात व्यवस्था सेवा कार्यालयमा दुई प्याकेट लाइसेन्स, जिल्ला प्रशासन कार्यालयमा दुई थैली राहदानी ढुवानी गरिएको खरिदार रमेश ढकालले जानकारी दिए । यस्तै इलाका प्रशासन कार्यालय रामपुरको कम्प्युटर सहित ४ थान सामग्री, भूमि प्रशासन कार्यालयको दुई थान पुलिन्दा ढुवानी गरिएको उनले बताए । हुलाक कार्यालयले आयात भएका राहदानी मध्ये ५ वटा सेवाग्राहीको घरमै पुगेर वितरण गरेको छ । माथागढीका २ जना, रम्भा, रैनादेवी छहरा र तानसेनका एक/एक जना सेवाग्राहीलाई घरमै गएर राहदानी वितरण गरिएको हुलाक कार्यालयका सुचना अधिकारी टंक भण्डारीले बताए ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच गत वैशाख ८ मा भएको सम्झौतापछि राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गर्दै आइएको उनको भनाई छ । सरकारी कुरियार सेवा सुरु गरेपछि सेवाग्रहीहरु उत्साहित भएको भण्डारीले बताए । सरकारको सेवा जनताको घरदैलोमै पु¥याउने उद्देश्यअनुसार यो अभियान सुरु गरिएको उनको भनाई छ । भण्डारीले भने “जिल्ला प्रशासन कार्यालयबाट घरदैलोमा नै राहदानी बुझ्ने दर्ता फाराम भरेका सेवाग्राहीहरुको राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित सेवाग्राहीलाई डेलिभरी गर्दै आएका छौं ।” हुलाकबाट घरमै आएर राहदानी दिएपछि आफुलाई अत्यनन्त खुसी लागेको माथागढी गाउँपालिका –६ का लेखबहादुर गाहाले बताए । उनले भने“यस्तो दिन पनि आउला भनेर कल्पन समेत गरेको थिएन, हरेक कागजातका लागि तानसेन नै जानुपथ्र्यो, यसले हामीहरुको समयमात्र होइन खर्च समेत बचत भएको छ ।” घरमै राहदानी प्राप्त गर्न चाहने सेवाग्राहीले हुलाक शुल्क स्वरूप रु ५५ बराबरको टिकट खर्च व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले परम्परागत हुलाक सेवाको स्वरूप परिवर्तन गर्दै त्यसलाई आधुनिक सरकारी सेवा वितरण प्रणालीका रूपमा रूपान्तरण गर्न खोजिरहेको भए पनि सेवा अझै प्रारम्भिक चरणमै छ ।
सेवाको पहुँच विस्तार, समयमै वितरण, डिजिटल ट्र्याकिङ प्रणालीको विकास तथा कर्मचारी र पूर्वाधारको क्षमता वृद्धि गर्न सके सरकारी कुरियर सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको पत्रकार प्रकाश नेपाल बताउन्छन् । सरकारी कार्यालयका कागजात सुरक्षित र समयमै गन्तव्यमा पुर्याउने माध्यमका रूपमा हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउनु आवश्यक रहेको उनको भनाई छ । सरकारी सेवा प्रवाहलाई छिटो, सरल र व्यवस्थित बनाउन हुलाकमार्फत सञ्चालन हुने कुरियर सेवालाई प्राथमिकताका साथ विस्तार गर्न सके सरकारी निकायबीचको समन्वय र प्रशासनिक कामकारबाहीमा समेत सकारात्मक प्रभाव पर्ने पत्रकार नेपालले बताए ।



