Shittalpati
सेनकालीन पाल्पा राज्यको कला, वास्तुकला र मूर्तिकलाको वैभव

पुष्कर अथक रेग्मी

कुनै पनि कामलाई राम्रोसँग गर्ने सिपलाई कला भनिन्छ । विद्वानहरुको परिभाषा अनुसार कलाविधा तर्फ चौसठ्ठी कलाको व्याख्या गरिएको छ । यसैगरी कुनै पनि काममा युक्तिपूर्वकको सिप, दक्षता, कुशलता, चातुर्यता, प्रवीणतालाई कौशलता भनिन्छ । यस लेखमा मध्यकालीन नेपालको सेनकालीन कलाकौशललाई संक्षेपमा प्रस्तुत गरिएको छ । सेनकालीन समयमा बनेका दरबारहरु, मन्दिर तथा घरहरु वास्तुकलाका बेजोड नमुनाहरु हुन् । रिब्दीकोटको दरबार, पाल्पा दरबार, श्रीनगर दरबार, प्रवास दरबार, नुवाकोट दरबार, बुटवल दरबार, तनहुँ दरबार, मकवानपुर दरबार आदि दरबारहरु सेनकालीन वास्तुकलाका अनुपम उदाहरणहरु हुन् ।

राजा धर्मपालले मगर राजाहरुलाई अपदस्त गरी उनीहरुकै दरबारलाई अझ व्यवस्थित गरी बर्गाकार रुपमा बनाइएको रिब्दिकोट दरबार, राजा रुद्रसेनले पाल्पा राज्यको जगबसाई पुरानकोटमा खण्ड खण्ड बर्गाकार रुपमा बनाइएको पाल्पा दरबार सुन्दर एवं अनुपम नमुना हुन् । रुद्रसेनले तानसेन शहर बसाली दक्षिणतर्फ माडीफाँटको पश्चिमी भागमा प्रभास दरबार बनाए । राजा अमरसेनले नुवाकोट र बुटवल दरबार बनाए । नुवाकोट दरबार राजा अमरसेनको हिउँदे राजधानी भयो । बुटवल बजारको पश्चिमपट्टि बाँके बनावटमा बनेको दरबारको नाम रंगमहल रह्यो । रंगमहल दरबार आकर्षक हुनाका साथै अनेक कोठा, हाताभित्र सुरक्षा पर्खाल, बगैंचा, मन्दिर आदि समेत रहेका थिए ।

देवघाटदेखि पश्चिम दक्षिणको चुचुरोमा राजा मणिकुन्द सेन प्रथमले मुकुन्दपुर बस्ती समेत बसाए । एक भव्य दरबार बनाए । दरबारलाई मुकुन्दपुर दरबार भनियो । दरबार क्षेत्रको आसपास गढीहरु समेत निर्माण भए । दिगविजयको क्रममा मुकुन्द सेन प्रथमले पूर्वी क्षेत्रमा मकवानपुर बस्ती बसाउनुका साथै एक दरबार बनाए । बस्तीको नाम मकवानपुर रहेर दरबारलाई मकवानपुर दरबार भनियो । राजा मुकुन्द सेनका माइला पुत्र भृंगी सेनले तनहुँसुरको शिखर भिरमा एक आकर्षक एवं सुरक्षित दरबार बनाए । दरबार परिसर भित्र कालिका मन्दिर, विष्णु, लोकेश्वर, शिव आदिको मन्दिर निर्माण भए । वरिपरि चार गिरी दुर्ग निर्माण भए । पूर्व तर्फ ब्यारेक र दक्षिणमा अद्रा घर निर्माण भए । राजा महादत्त सेनले पाल्पा तानसेनको श्रीनगर शहर निर्माण गरी एक सुन्दर श्रीनगर दरबार बनाए । सम्पूर्ण दरबारहरु निर्माण गर्दा जनसहभागिता सहितका कला शिल्पीहरुले ढुंगा, पाको इट्टा, झिंगटी, टायल, काठ, माटो आदि प्रयोग गर्नुका साथै चुना, मास्बेली आदिका सुर्खी मिश्रणले बज्रलेपन गरी विशेषत रातो, गियरु, निलो, कालो एवं अन्य आवश्यक सुन्दर रंगहरुको प्रयोग गरी निर्माण गरिएका दरबारहरु अति सुन्दर र आकर्षक रहे । यसरी नै राजधानी तथा बस्तीहरुमा बनेका घरहरु समेत कला कौशलले भरिपूर्ण थिए । सेनकालीन समयमा निर्मित यी सबै वास्तुकला हाम्रा अमूल्य निधिहरु हुन् । वर्तमानमा यी सबैको अस्तित्व खोज नीति गरी संरक्षण, संवर्धन र प्रवर्धनका लागि उत्खनन हुनु जरुरी छ । बल्डेङगढी, नुवाकोटगढी, प्याउलीगढी, चितवन कविलाशपुरगढी, मकवानपुरगढी, हरियरपुरगढी, सिन्धुलीगढी, विजयपुर, सा·ुरीगढी, चौदण्डीगढी लगायत सेनकालीन समयमा निर्मित वास्तुकलाले भरिपूर्ण बेजोड प्रस्तुतिहरु रहेका छन् । यी गढीहरुले सेनवंशी राजाहरुको अस्तित्व जोगाउँदै राष्ट्रियताको संरक्षण,सम्बद्र्धन र प्रवद्र्धनमा अहम् भूमिका खेलेका छन् । रिब्दिकोटमा इष्टदेवी भगवतीको मन्दिर, रुरु क्षेत्र ऋषिकेशव मन्दिर, प्रवासको वंशगोपाल, मुकुन्देश्वर महादेव मन्दिर, बराह क्षेत्रमा निर्मित मन्दिरहरु स्तुपा शैलीमा रहेका छन् । हरिहर क्षेत्रको मन्दिर पाल्पाली सेन शैलीको छ । पाल्पाको भैरव मन्दिर प्यागोडा शैली, अमरगञ्ज भैरव मन्दिर, नुवाकोट भैरव मन्दिर, देवघाटमा रहेका मठमन्दिरहरु साथै चक्रेश्वर महादेवको मन्दिर शिखर शैलीमा निर्मित छन् । यी सबै सेनकालीन उत्कृष्ट धार्मिक वास्तुकलाका अनुपम उदाहरणहरु हुन् । सेनकालीन पाल्पामा मूर्तिकलाको विकास पनि उल्लेखनीय रहेको छ । रुरु क्षेत्र रिडीका मूर्तिहरु, पाल्पा क्षेत्रका चार भैरवका मूर्तिहरु, बुटवल क्षेत्रका हनुमान, नागदेवता, महावीरका मूर्तिहरु, देवघाट धाम तीर्थका मूर्तिहरु, चतुर्भुज नारायण, कालिका, गणेश, सूर्य, विष्णु, बाकेश्वरी, शिलासिंहका मूर्तिहरु, शिवलिंगहरुका साथै त्रिवेणी क्षेत्रका पुराना देवी देवताका मूर्तिहरु सेनकालीन अद्भुत आकर्षणहरु हुन् । जनकपुर, मिथिला क्षेत्रहरुमा प्राचीन मन्दिर मूर्तिहरु त सधैं थिए परन्तु यसका अलावा सेनकालीन समयमा बनेका मूर्तिहरु पनि छन् । सप्तरी हनुमाननगरको हनुमान मूर्ति, सखडा बहानको नामले प्रख्यात राजविराजको छिन्नमस्ता मन्दिरको मूर्ति, शिवलिंग, विष्णु र लक्ष्मीका मूर्तिहरु अपूर्व छन् । रुपनगरको रुपनारायण, इनरुवाको चतुर्भुज विष्णु मूर्ति, तानसेनको दुर्गा भगवतीको मूर्ति प्रस्तर कलाको अनुपम उदाहरण हुन् । बराह क्षेत्रमा रहेका नागेश्वर बराह, सूर्य बराह, इन्द्र बराह, गुरु बराह, शिव, गणेश, देवी, पाञ्चनका मूर्तिहरु सेनकालीन मूर्तिकलाका बेजोड उदाहरणहरु हुन् ।

राजा मनमुकुन्द सेन प्रथमले काठमाडौँ विजय गरी फर्कादा धातुको एक सुन्दर झ्याली समेत लिएर आएपछि पाल्पामा धातुका झ्याली, भाडाकुडा, हतियार, धनुबाण आदि बनाउन लागियो। चाँदी, तामा, पित्तल, सिसा, फलाम, सिल्टी आदि धातुका सामग्रीहरू बन्दै गए । अहिलेसम्म पनि पाल्पा हस्तनिर्मित धातु कलाका लागि नेपाल प्रसिद्ध छ । सेन राजाहरूको दरबार, बस्तीहरू र जनस्तरमा बनाइएका घरहरूमा प्रयोग भएका काठ, दलिन, खम्बा, झ्याल, ढकामा कुदिएका आकृतिहरू काष्ठकलाका अनुपम उदाहरणहरू हुन् । तिब्बत हुँदै चीनसम्म कलाको विकास गराउने बलबाबु कलाकार अरनिको पनि पाल्पाली नै थिए । दरबार, मन्दिर, घर, पर्खाल, भित्ता तथा कलात्मक चित्राड्ढन गर्ने गराउने कलाको विकास समेत सेनकालीन समयमा शीघ्रता र तीव्रताका साथ भयो ।  सेनकालीन समयका यी अद्भुत वास्तुकला, मूर्तिकला, धातुकला, काष्ठकला र चित्रकलाले पाल्पा राज्यको अस्तित्वलाई झकझकाइ रहन्छ । यी सबै हाम्रा मध्यकालीन ( सेनकालीन ) ऐतिहासिक, सांस्कृतिक, राष्ट्रिय सम्पदाहरू हुन् । ( लेखक पाल्पाको इतिहासमा कलम चलाउने स्रष्टा समेत हुन् )

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update