विदुर घिमिरे
मानिसको वास्तविक सम्मान उसको पद, शक्ति, सम्पत्ति वा राजनीतिक पहुँचले होइन, उसले समाज र जनताका लागि गरेको कर्मले निर्धारण गर्छ । पदमा रहँदा मानिसलाई सलाम गर्नेहरू धेरै भेटिन्छन्, तर पदबाट बाहिरिएपछि पनि सम्मानपूर्वक सम्झिने मानिस कमै हुन्छन् । किनकि पदले परिचय दिन्छ, तर कर्मले पहिचान बनाउँछ । कुर्सीले अधिकार दिन्छ, तर व्यवहारले विश्वास जित्छ । संसारले हाम्रो हरेक कदम नजिकबाट नहेरेजस्तो लाग्न सक्छ, तर समयले सबैको कर्मको हिसाब राखिरहेको हुन्छ । आज नेपालको राजनीतिक परिवेशमा जनप्रतिनिधिप्रतिको जनधारणा बुझ्न टाढा जानुपर्दैन । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह (बालेन), ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालप्रति नागरिकले व्यक्त गर्ने सम्मानलाई नियाल्दा एउटा महत्वपूर्ण प्रश्न उठ्छ जनप्रतिनिधिले जनताको मनमा कस्तो स्थान बनाउनुपर्छ ?बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदा चालेका विभिन्न कदम, चिरिबाबु महर्जनले ललितपुरमा गरेका काम र गोपाल हमालको जनतासँगको सम्बन्धले स्थानीय नेतृत्वबारे सार्वजनिक बहसलाई बलियो बनाएका छन् । उनीहरूका काम र शैलीप्रति फरक–फरक मत हुन सक्छन् । लोकतन्त्रमा आलोचना र समर्थन दुवै स्वाभाविक हुन् । तर जनप्रतिनिधिको मूल्याङ्कन गर्दा उसको पदभन्दा काम, भाषणभन्दा परिणाम र प्रचारभन्दा नागरिकसँगको व्यवहारलाई प्राथमिकता दिनुपर्छ ।
जनताको मन जित्ने नेतृत्व नै वास्तविक सफल नेतृत्व हो । केही समयअघि धनगढी पुग्दा मैले अनुभव गरेको एउटा घटना मेरो मनमा अझै ताजा छ । धनगढीका नगरप्रमुख गोपाल हमाललाई देख्नेबित्तिकै मनमा श्रद्धा जाग्यो । उहाँप्रतिको सम्मान व्यक्त गर्न मैले गाडी रोकेँ र उहाँ खाना खान प्रवेश गर्नुभएको होटलतर्फ गएँ । मैले उहाँलाई नमस्कार गर्दै भनेँ, “म पाल्पाको तानसेनबाट आएको हुँ । मेरो नाम विदुर घिमिरे हो । हजुरलाई देखेर सँगै एउटा फोटो खिच्न पाइन्छ कि भनेर आएको ।” मैले सोचेको थिएँ, उहाँसँग फोटो खिच्ने अनुमति मागेर फर्किनेछु । तर उहाँ त खाना खान होटलमा पस्नुभएको रहेछ । उहाँले देखाउनुभएको आत्मीयता र अपनत्वले त्यो सामान्य भेटलाई मेरो जीवनको स्मरणीय क्षण बनाइदियो । उहाँले सँगै खाना खाने आग्रह गर्नुभयो र मैले पनि उहाँसँगै बसेर खाना खाने सौभाग्य पाएँ । त्यो भेटमा उहाँले दिएको आत्मीय अँगालो, हात मिलाउँदाको आत्मीयता र सहज व्यवहार अझै मेरो स्मृतिमा ताजा छन् । एउटा नगरप्रमुखसँग भेट्दा मैले अनुभव गरेको त्यो सम्मान केवल व्यक्तिगत खुसीको विषय थिएन । त्यो त जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध कस्तो हुन सक्छ भन्ने कुराको जीवन्त उदाहरण थियो । म उहाँका हरेक कामसँग सहमत छु वा उहाँ त्रुटिरहित हुनुहुन्छ भन्ने दाबी गरिरहेको छैन । कुनै पनि जनप्रतिनिधि आलोचनाभन्दा माथि हुँदैन् । तर एउटा नागरिकले जनप्रतिनिधिलाई भेट्दा आफूलाई सानो, अपमानित वा असुरक्षित महसुस गर्नुपर्दैन भन्ने सन्देश त्यो भेटले मलाई दियो । राजनीतिक नेतृत्वको वास्तविक परीक्षा पनि यहीँबाट सुरु हुन्छ । एउटा जनप्रतिनिधिले हजारौँ मानिससँग हात मिलाउन सक्छ, सयौँ कार्यक्रममा भाषण गर्न सक्छ र सामाजिक सञ्जालमा लाखौँ मानिससम्म पुग्न सक्छ । तर सामान्य नागरिकसँगको पाँच मिनेटको भेटमा उसले कस्तो व्यवहार गर्छ भन्ने कुराले उसको चरित्रको गहिरो परिचय दिन्छ । जनताले आफ्ना जनप्रतिनिधिबाट असम्भव चमत्कार खोजेका हुँदैनन् । उनीहरूले सुशासन, पारदर्शिता, न्याय, विकास र सम्मानजनक व्यवहार चाहेका हुन्छन् । समस्या लिएर कार्यालय पुग्दा कुरा सुनियोस्, प्रश्न गर्दा अपमानित हुन नपरोस्, अन्यायविरुद्ध आवाज उठाउँदा प्रतिशोधको डर नहोस् र सार्वजनिक सेवा लिन जाँदा पहुँच तथा चिनजान खोज्न नपरोस्—नागरिकका अपेक्षा यति सामान्य छन् । तर दुःखद पक्ष के छ भने, कतिपय ठाउँमा जनताको सेवक बन्नुपर्ने व्यक्ति नै शक्तिको मालिक जस्तो व्यवहार गर्न थाल्छ । निर्वाचन जितेपछि जनताको प्रतिनिधि भएको बिर्सिन्छ । आलोचना सुन्न नसक्ने, प्रश्न गर्ने नागरिकलाई विरोधी ठान्ने र सरकारी पदलाई व्यक्तिगत प्रतिष्ठाको साधन बनाउने प्रवृत्तिले लोकतन्त्रको आत्मामाथि प्रहार गर्छ । जनप्रतिनिधि जनताभन्दा माथि होइन् । ऊ जनताबाट निर्वाचित भएर जनताकै करबाट चल्ने संस्थाको नेतृत्व गरिरहेको हुन्छ । त्यसैले उसको पहिलो जिम्मेवारी जनताप्रति जवाफदेही हुनु हो, जनतालाई आफ्नो आदेश पालना गराउन खोज्नु होइन । नगरप्रमुखलाई देख्दा नागरिकको छाती गर्वले फुल्नुपर्छ, डरले खुम्चिनु हुँदैन । आफ्नो नगरप्रमुख वा गाउँपालिका अध्यक्ष सार्वजनिक स्थानमा भेटिँदा नागरिकले आत्मियतापूर्वक नमस्कार गर्न सकून् । कुनै समस्या राख्न डराउन नपरोस् । आफ्नो पालिकाको नेतृत्वप्रति भरोसा गर्न सकून् । जनप्रतिनिधि देख्दा सम्मान जागोस्, भेट्दा अपनत्व महसुस होस् र उसको उपस्थितिले आफू सुरक्षित भएको अनुभूति होस् । यसको ठीक विपरीत, जनप्रतिनिधिको नाम सुन्दा नागरिकमा भय पैदा हुन्छ, भेट्दा असहजता महसुस हुन्छ वा आफ्ना कुरा राख्दा अपमानित हुनुपर्ने डर रहन्छ भने त्यो स्थानीय लोकतन्त्रका लागि सुखद् अवस्था होइन । जनप्रतिनिधिप्रतिको सम्मान दवाब, त्रास वा बाध्यताबाट होइन, स्वेच्छा र विश्वासबाट उत्पन्न हुनुपर्छ । यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ—जनप्रतिनिधि लोकप्रिय हुनु मात्रै पर्याप्त छैन । उसको काम कानुनसम्मत, निष्पक्ष र परिणाममुखी पनि हुनुपर्छ । मीठो बोलीले मात्रै जनताको पेट भरिँदैन । आत्मीय अँगालोले मात्रै विकास हुँदैन । त्यसका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी, सामाजिक सुरक्षा र प्रभावकारी सार्वजनिक सेवा सुनिश्चित गर्नुपर्छ । त्यसैगरी, विकासका नाममा नागरिकमाथि अन्याय गर्नु, कानुनको प्रयोगमा पक्षपात गर्नु वा असहमत आवाजलाई दबाउन खोज्नु पनि स्वीकार्य हुन सक्दैन । असल नेतृत्वको पहिचान केवल उसले आफ्ना समर्थकलाई कसरी व्यवहार गर्छ भन्नेमा सीमित हुँदैन; उसले आलोचक, विपन्न, कमजोर र पहुँचविहीन नागरिकसँग कस्तो व्यवहार गर्छ भन्ने कुराले पनि उसको नेतृत्वको स्तर देखाउँछ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । नागरिकलाई संघीय सरकारभन्दा पहिले आफ्नो वडा कार्यालय, नगरपालिकाको कार्यालय वा गाउँपालिकाको कार्यालय चाहिन्छ । जन्मदर्तादेखि सिफारिससम्म, खानेपानीदेखि सडकसम्म र स्थानीय विवाददेखि सामाजिक सुरक्षासम्म नागरिकका दैनिक आवश्यकतासँग स्थानीय सरकार जोडिएको हुन्छ । त्यसैले स्थानीय नेतृत्व जनताका लागि आशाको केन्द्र बन्नुपर्छ, झन्झटको अर्को नाम होइन । कार्यालयका ढोका जनताका लागि खुला हुनुपर्छ । निर्णयका आधार स्पष्ट हुनुपर्छ । सार्वजनिक स्रोतको प्रयोगमा पारदर्शिता हुनुपर्छ । नागरिकका गुनासा सुन्ने संयन्त्र प्रभावकारी हुनुपर्छ । जनप्रतिनिधिले आफ्नो पदलाई सुविधाको अधिकारभन्दा जिम्मेवारीको भारका रूपमा बुझ्नुपर्छ । राजनीतिमा अन्ततः पद सधैँ रहँदैन । निर्वाचनको परिणाम बदलिन्छ, नेतृत्व फेरिन्छ र समयसँगै मानिसहरू नयाँ व्यक्तितर्फ आकर्षित हुन्छन् । तर जनताको सुखदुःखमा साथ दिएको, अन्यायविरुद्ध उभिएको र नागरिकलाई सम्मान गरेको नेतृत्वलाई मानिसहरूले लामो समयसम्म सम्झिरहन्छन् ।
आजको पुस्ता केवल आश्वासन सुनेर सन्तुष्ट हुने अवस्थामा छैन । उसले कामको परिणाम खोज्छ, प्रश्नको उत्तर खोज्छ र नेतृत्वको व्यवहारमा इमानदारी खोज्छ । सामाजिक सञ्जालको युगमा जनप्रतिनिधिको एउटा राम्रो कामले व्यापक प्रशंसा पाउन सक्छ भने एउटा असंवेदनशील व्यवहारले वर्षौँ लगाएर बनाएको छवि क्षणभरमै कमजोर बनाउन सक्छ । तर लोकप्रियता क्षणिक हुन सक्छ; जनविश्वास कायम राख्न निरन्तर इमानदार कर्म आवश्यक हुन्छ । यसैले देशका सबै नगरप्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र अन्य जनप्रतिनिधिले आफैँलाई एउटा प्रश्न सोध्नुपर्छ—मलाई जनताले पदका कारण सम्मान गरिरहेका छन् कि मेरो कर्मका कारण ? म सार्वजनिक कार्यक्रममा मात्र जनताको नजिक छु कि उनीहरूको दुःख र समस्यामा पनि साथमा छु ? म आलोचना सुन्न सक्छु कि सक्दिनँ ? मसँग भेटेर नागरिकले आशा बोकेर फर्कन्छन् कि निराशा ?
यी प्रश्नको उत्तर भाषणबाट होइन, व्यवहारबाट दिनुपर्छ । जनताको मनमा बस्न ठूलो प्रचार अभियान चाहिँदैन । कहिलेकाहीँ एउटा निष्पक्ष निर्णय, एउटा न्यायपूर्ण कदम, एउटा इमानदार जवाफ र एउटा आत्मीय व्यवहार नै पर्याप्त हुन्छ । धनगढीमा गोपाल हमालसँग भएको मेरो भेटले मलाई यही कुरा फेरि सम्झायो—नेतृत्वको उचाइ उसको कुर्सीले होइन, नागरिकले अनुभव गर्ने सम्मानले मापन हुन्छ । त्यसैले आज म सबै नागरिकलाई पनि सोध्न चाहन्छु—तपाईंको आफ्नो नगरप्रमुख वा गाउँपालिका अध्यक्ष कस्तो हुनुहुन्छ ? उहाँलाई देख्दा तपाईंको मनमा गर्व जाग्छ कि असहजता ? उहाँसँग आफ्ना समस्या राख्न सक्नुहुन्छ कि सक्नुहुन्न ? उहाँको कामप्रति भरोसा छ कि छैन ? र सबैभन्दा महत्वपूर्ण कुरा, उहाँले तपाईंलाई नागरिकका रूपमा सम्मान गर्नुहुन्छ कि गर्नुहुन्न ? यी प्रश्न कुनै एक व्यक्ति वा पालिकालाई लक्षित गरेर मात्र सोधिएका होइनन् । यी हरेक स्थानीय सरकार, हरेक जनप्रतिनिधि र समग्र राजनीतिक संस्कृतिसँग सम्बन्धित प्रश्न हुन् । लोकतन्त्रमा जनताले प्रतिनिधि चुन्छन्, तर प्रतिनिधिले जनताको विश्वास जितिरहनुपर्छ । निर्वाचनले पद दिन्छ, कर्मले सम्मान दिन्छ र व्यवहारले इतिहासमा स्थान बनाउँछ । अन्ततः जनप्रतिनिधिको सबैभन्दा ठूलो उपलब्धि उसले बनाएका भवन, काटेका रिबन वा सजाएका तस्बिर मात्र होइनन् । उसको वास्तविक उपलब्धि त त्यो दिन देखिन्छ, जुन दिन कुनै नागरिकले उसलाई देखेर श्रद्धाले शिर झुकाउँछ, गर्वले छाती फुलाउँछ र मनैदेखि भन्छ—हाम्रो नेतृत्वप्रति हामीलाई विश्वास छ । किनकि जनप्रतिनिधिको असली पद सरकारी कुर्सीमा होइन, जनताको हृदयमा हुन्छ । त्यो पद न निर्वाचन आयोगले खोस्न सक्छ, न राजनीतिक प्रतिस्पर्धाले सजिलै मेटाउन सक्छ । तर त्यसलाई जोगाइराख्न निरन्तर असल कर्म, इमानदार नेतृत्व र नागरिकप्रतिको सम्मान अनिवार्य हुन्छ ।

