पदम न्यौपाने
हिजो पाल्पाको सदरमुकाम तानसेन बजारका हरेक घरका कोठा भाडामा जान्थे, हरेक गल्ली र पसलको व्यापार राम्रो थियो, कारण थियो विद्यार्थीहरु । त्यो बेला हरेक किसिमको व्यापार हुन्थ्यो । गाउँका उत्पादन बजारमै विक्रि थियो । ग्रामीण भेगका किसानको आन्दानी पनि राम्रै हुन्थ्यो । आफ्ना छोरा छोरी भेट्न आउने अभिभावकले समेत यहीबाट आवश्यक सरसामान खरिद गर्ने गर्थे, विक्रि गर्थे । यसले पनि खुद्रा व्यापार मात्र होइन्, थोक व्यापार पनि बढेको थियो । यो अवसर सिर्जना भएको थियो ,तानसेनको त्रिभूवन बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीका कारण ।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, नेपालको पुरानो र पश्चिम नेपालकै प्रारम्भिक उच्च शिक्षण संस्था मध्ये एक हो । विसं २०११ सालमा त्रिभुवन इन्टरमिडिएट कलेजका रूपमा प्रारम्भ भएको थियो । यसको उद्देश्य पश्चिम नेपालमा उच्च शिक्षा उपलब्ध गराउने संस्था स्थापना गर्नु थियो । यस कलेजले आफ्नो उद्देश्य अनुरुप पश्चिम नेपालका करिव डेढ दर्जन जिल्लाका विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गरेको इतिहासले चर्चा गर्दछ ।
यो क्याम्पस स्थापना गर्नमा स्थानीय शिक्षाप्रेमी, शिक्षाविद्, समाजसेवी, अभिभावक, व्यवसायी तथा स्थानीय समुदायको पहल अस्मिरणिय रहेको छ । कलेजका प्रारम्भिक ४ वर्ष निकै कठिन रह्यो र बन्द हुन पुग्यो तर धेरैको अथक प्रयत्न पश्चात २०१५ जेठ ३० मा पुनः सञ्चालनमा आयो र २०१७ असार १३ मा यसको नाम त्रिभुवन डिग्री कलेज राखियो । त्यसपछि मानविकीमा स्नातक तह सुरु भयो । विस २०३० मा यो त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बन्यो र त्यसै समयदेखि त्रिभुवन बहुमुखी क्याम्पसका रूपमा स्थापित भयो ।
यस कलेजको उद्देश्य पश्चिम नेपालमा उच्च शिक्षाको पहुँच विस्तार गर्नु, तानसेन र आसपासका जिल्लाका विद्यार्थीलाई स्थानीय स्तरमै उच्च शिक्षा उपलब्ध गराउनु,विभिन्न विषय तथा विधामा शिक्षा दिएर योग्य र दक्ष जनशक्ति उत्पादन गर्नु,आर्थिक वा भौगोलिक कारणले उच्च शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई सुलभ उच्च शिक्षा प्रदान गर्नु, शिक्षा, अनुसन्धान र ज्ञानमार्फत पाल्पा तथा समग्र पश्चिम क्षेत्रको सामाजिक–आर्थिक विकासमा योगदान गर्नु थियो । कलेजले आफ्नो उद्देश्य बमोजिम यस क्षेत्रमा ठूलो योगदान गरेको छ । यहाँ अध्ययन गरेका पूर्वपहुँच र संलग्नता हेर्दा आज पनि क्याम्पसको आधिकारिक दृष्टिकोणमा गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति उत्पादन, अनुसन्धान र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक पहिचान निर्माणमा ठूलो भूमिका निर्वाह गरेको देखिन्छ । यस दृष्टिले त्रिभुवन बहुमुखी क्याम्पस केवल एउटा शैक्षिक संस्था मात्र होइन; पाल्पा र पश्चिम नेपालको आधुनिक शैक्षिक चेतना निर्माणको एउटा ऐतिहासिक आधारका रूपमा अध्ययन गर्नुपर्ने संस्था हो ।
क्याम्पसको आधिकारिक इतिहास र तथ्य अनुसार प्रारम्भिक कक्षा पद्मोदय पब्लिक हाइस्कुल, पाल्पामा सञ्चालन भएको थियो । पछि सरकारी तथा अन्य निकायबाट अनुदान प्राप्त हुँदै गएपछि क्याम्पस लहरेपिपल, तानसेनस्थित आफ्नै वर्तमान परिसरमा सरेको हो । यो तथ्य आफैंमा महत्वपूर्ण छ—किनकि यसले पाल्पामा उच्च शिक्षा विकासमा स्थानीय विद्यालय र समुदायको पूर्वाधारले खेलेको भूमिका देखाउँछ । वि.सं. २०१७ असार १३ गते तत्कालीन राजा त्रिभुवनको जन्मजयन्तीको अवसरमा कलेजको नाम त्रिभुवन डिग्री कलेज राखिएको र सोही समयमा बिहानको समयमा मानविकीमा स्नातक तह सुरु गरिएको थियो । वि.सं. २०३० सालमा राष्ट्रिय शिक्षा नीतिको कार्यान्वयनसँगै कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनेको घटनाले संस्थाको इतिहासमा निर्णायक मोड ल्यायो ।
शैक्षिक कार्यक्रमको विस्तारः
क्याम्पसको विकासक्रम हेर्दा यसको शैक्षिक यात्रा चार प्रमुख धारमा विस्तार भएको देखिन्छ । मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान र केही अवधिमा कानूनको अध्ययन समेत रह्यो । वि.सं. २०३८/३९ मा विज्ञानतर्फ इन्टरमिडिएट तह सुरु भयो । त्यसपछि विज्ञान शिक्षाका लागि बतासेडाँडामा छुट्टै संरचना निर्माण भयो । वि.सं. २०४१/४२ मा व्यवस्थापनमा स्नातकोत्तर तह सुरु भयो । क्याम्पसको आधिकारिक इतिहासअनुसार त्यस समयमा यो कलेज पृथ्वीनारायण क्याम्पस, पोखरापछि पश्चिम क्षेत्रमा स्नातकोत्तर तह सञ्चालन गर्ने महत्वपूर्ण संस्था थियो ।
पुस्तकालयको इतिहास :
यो क्याम्पसको इतिहासमा विशेष उल्लेख गर्नुपर्ने अर्को पक्ष हो, यसको पुस्तकालय । क्याम्पसको आधिकारिक विवरण अनुसार क्याम्पस स्थापनाकै समय २०११ सालमा त्रिभुवन कलेज पुस्तकालयको सुरुवात भएको थियो । प्रारम्भिक चरणमा अमेरिकी विश्वविद्यालय Oregon का प्राध्यापक Hugh B. Wood ले सन् २०१५ तिर २०० वटा महत्वपूर्ण पुस्तक उपलब्ध गराएको उल्लेख छ । यसलाई नेपालमा उच्च शिक्षा र अन्तर्राष्ट्रिय शैक्षिक सहयोगको प्रारम्भिक सम्बन्धको एउटा रोचक उदाहरणका रूपमा पनि लिने गरिन्छ ।
कलेजद्धारा पाल्पाको विकासमा योगदान :
७२ वर्षको इतिहासलाई हेर्दा पाल्पा र यस क्षेत्रको विकासका पाँच क्षेत्रमा गरेको प्रत्यक्ष योगदानका सन्दर्भमा अध्ययन गर्न सकिन्छ ।
१. मानव पूँजी निर्माण :
क्याम्पसले पाल्पा मात्र होइन, आसपासका जिल्लाका विद्यार्थीलाई उच्च शिक्षा उपलब्ध गराएको मात्र होइन । विद्यार्थी पढेका पहाडी तथा तराइका जिल्लाको विकासमा ठूलो योगदान गरेको थियो ।
२. प्रशासनिक नेतृत्व उत्पादन :
अहिले पनि क्याम्पसबाट अध्ययन गरेका धेरै व्यक्ति वा पूर्व विद्यार्थीहरु सरकारी प्रशासन, शिक्षा, राजनीति, न्याय, व्यवसाय तथा अन्य पेशागत क्षेत्रमा पुगेका छन् । क्याम्पसका पूर्वविद्यार्थीहरू विभिन्न राष्ट्रिय स्तरका विभित्र जिम्मेवारीमा पुगेको सर्ववितितै छ ।
३. बौद्धिक वातावरण निर्माण :
क्याम्पसले तानसेनलाई केवल प्रशासनिक वा व्यापारिक केन्द्र मात्र नबनाई बौद्धिक तथा प्राज्ञिक केन्द्रका रूपमा समेत विकास गर्न योगदान गरेको देखिन्छ ।
४. सामाजिक चेतनाको विकास :
कलेजद्धारा सो बखतदेखी प्रदान गरेको उच्च शिक्षाले पाल्पामा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक विषयमा नयाँ विचार र बहस निर्माण गर्न योगदान गरेको विषय अध्ययन गर्न लायक देखिन्छ ।
५. क्षेत्रीय शैक्षिक केन्द्र :
एक समय तानसेनमा उच्च शिक्षा लिन पाल्पा बाहेक पश्चिम नेपालका धेरै जिल्लाबाट विद्यार्थी आउने गरेका थिए । कम्तीमा डेढ दर्जन जिल्लाहरुको शैक्षिक थलो पाल्पा बनेको थियो । यही केन्द्रको इतिहासले अहिले पनि पाल्पालाई शैक्षिक केन्द्र बनाउनुपर्दछ वा बन्ने सम्भावनाका सन्दर्भमा बहस हुने गरेको छ । कलेजले यही पृष्भूमिको स्मरण गर्दै पुरानो शाख फर्काउन नयाँ आवश्यकताको रुपमा रहेको पर्यटन तथा होटल व्यवस्थापन कक्षा सुरु गर्ने पहल समेत प्रारम्भ गरेको छ । कलेजको जनशक्ति उत्पादन योगदानको पक्षका बारेमा छुट्टै अध्ययन, अनुसन्धानको विषय बनाउन आवश्यक छ । शिक्षण, प्राध्यापन, निजामती कर्मचारी, न्याय क्षेत्र, राजनीतिक नेतृत्व, स्थानीय सरकारका जनप्रतिनिधि, स्वास्थ्य तथा प्राविधिक क्षेत्र, विज्ञान, बैंक तथा वित्तीय क्षेत्र, उद्योग÷व्यवसाय, पर्यटन, सञ्चार तथा पत्रकारिता, साहित्य तथा संस्कृति, गैरसरकारी संस्था,कुटनीतिक क्षेत्र,अनुसन्धानकर्ता, विदेशमा कार्यरत÷अध्यनरत जनशक्ति अध्ययनका विषय बनाउन सकिन्छ । यस्तो अध्ययनबाट कलेजको आधुनिक इतिहास प्रारम्भ हुनेछ ।
एउटा सत्य र अविश्मरणिय कुरा केहो भने तानसेनको समाजले शिक्षामा गरेको लगानी पछि तानसेनकै सामाजिक तथा आर्थिक पुँजीमा रूपान्तरण भयो । अर्थात् क्याम्पस तानसेनको अर्थतन्त्रको परिणाम मात्र थिएन; यो तानसेन समाजले आफैं निर्माण गरेको आर्थिक–सामाजिक पूर्वाधार पनि थियो ।
तानसेनको अर्थतन्त्रमा सबैभन्दा ठूलो आर्थिक प्रवाह गरेको शक्ति : विद्यार्थी
क्याम्पसद्धारा प्रकाशित विभिन्न दस्तावेजहरुमा उल्लेख गरे अनुसार विभित्र २० जिल्लाबाट विद्यार्थी आउने गरेका थिए । यस तथ्यले त्यो समय तानसेनको अर्थतन्त्र चलायमान बनाउन ठूलो योगदान गरेको थियो । किनभने बाहिरी जिल्लाबाट आउने विद्यार्थीले तानसेनमा खर्च गर्दथे । कोठा, खाना,यातायात, पुस्तक,स्टेशनरी,सञ्चार, कपडा, स्वास्थ्य, मनोरञ्जन र अन्य दैनिक उपभोग वस्तुहरुमा गरिने खर्च स्थानीय अर्थतन्त्रका अवयव हुन् । यसरी विद्यार्थी स्वयं स्थानीय आर्थिक माग सिर्जना गर्ने उपभोक्ता हुन् । यसबाट हरेक महिना बाहिर जिल्लाबाट ठूलो रकम आउने गर्छ । यसले घरधनीको आय मात्र बढाउँदैन; घर निर्माण, कोठा थप्ने, फर्निचर, पानी, बिजुली, मर्मत र घरेलु सेवाको माग पनि बढाउँछ । यसलाई अर्थशास्त्रीय भाषामा शिक्षाले स्थानीय माग बढाउन मद्धत गर्दछ भत्र सकिन्छ ।
क्याम्पसको यही ऐतिहासिक पृष्ठभूमिलाई मध्यनजर राख्दै हालै त्रिभुवन बहुमुखी क्याम्पसले गुमेको पुरानो शाख र योगदानमा समेत थप योगदान गर्न सकोस् भनेर पर्यटन र होटल सम्वद्ध होटल व्यवस्थापनको स्नातक तहको त्रिविविको कोर्ष सञ्चालनका लागि पहल गर्ने निर्णय गरेको छ । गत महिना कलेज सञ्चालन कार्यसमितिद्धारा गरिएको निर्णयमा भनिएको छ—त्रिभुवन बहुमुखी क्याम्पसमा नयाँ कार्यक्रम थप गर्ने योजना अनुरुप पाल्पाको सम्भावना र विद्यार्थीको मागलाई दृष्टिगत गरी स्नातक तहमा होटल म्यानेजमेन्ट कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयमा प्रस्ताव पेश गर्ने र सरोकारवाला व्यक्तिहरु र विभिन्न संघसंस्थाहरुसँग परामर्श गरी श्रोतको सम्भावना खोजी गर्ने । यो निर्णय केवल कलेजको नयाँ विषयमा पढाइने पहलको सन्दर्भमा मात्र सिमिति छैन । यो निर्णयलाई समस्त पाल्पाली र विशेषगरी तानसेनले सम्वेदशशिलतापूर्वक हेर्नु र लिनुपर्ने देखिन्छ । नगरवासिन्दा, व्यवसायीक प्रतिष्ठान, होटल सञ्चालक, स्थानीय सरकार सबैको सक्रियता सहित यसमा पर्यटन समेत थप गरि वा नाथमद्धारा सञ्चालित कोर्ष सञ्चालन गर्न जरुरी देखिन्छ ।
पर्यटन तथा होटल व्यवस्थापन पढाइ किन ?
पाल्पा पर्यटकीय जिल्ला र त्यसमा पनि तानसेन झनै बृहत्तर सम्भावना बोकेको क्षेत्र । बर्शौदेखी पर्यटनको सम्भावना भएको भन्दै आएको भए पनि संस्थागत, संरचनागत र दुरगामी सोच र अवधारणा बन्न नसकेको कारण अपेक्षित लाभमा पहुँच पुगेको छैन । पर्यटन क्षेत्र सम्वद्ध व्यवसायी र लगानी क्षेत्रले चाहाना राखेपनि पर्यटन केन्द्रित सक्रियताको अभावले ओझेल पर्दै आएको तितो यथार्थ हो । गत वर्ष तानपाद्धारा पर्यटनको क्षेत्रमा नीतिगत व्यवस्था र नविनता साथ पहल गर्न तानसेन पर्यटन बोर्ड गठन गरी तानसेन पर्यटन नीति समेत तयार भइसकेको छ । अब यस नीतिको कार्यान्वयनका लागि स्थानीय सरकार, नीजि क्षेत्र, उद्यमी व्यवसायी, पाल्पा सम्वद्ध प्रभावशाली व्यक्ति, संस्थाको चासो र सक्रियता जरुरी छ । यसकालागि छिट्टै पर्यटन सम्वद्ध परियोजनामा हस्ताक्षर नै गर्ने गरी लगानी सम्मेलन गर्ने कार्यक्रम समेत तयार पारेको छ । कलेजको यो निर्णयले समेत यही नीतिको कार्यान्वयनमा महत्वपूर्ण मद्धत गर्ने छ ।
पाल्पाको यो कलेजको झण्डै आधा नेपालको शिक्षा क्षेत्रमा योगदान गरेको इतिहास जस्तै यो निर्णयले समेत त्यही स्तरको प्रभाव पर्यटन क्षेत्रमा पार्ने विश्वास लिइएको छ । यस क्षेत्रको पर्यटनमा बढ्दो लगानी तर गुणस्तरिय जनशक्तिको अभाव सामना गरिरहेको होटल, रेष्टोरेन्ट तथा अन्य पर्यटन गतिविधिलाई प्रत्यक्ष मद्दत पुग्नेछ । यो सञ्चालनमा आएमा वा आउने निश्चित भएमा पर्यटन क्षेत्रमा ठूलो लगानी बढ्नेछ । यसको प्रत्यक्ष लाभ पाल्पाले पाउने छ । स्तरिय होटल स्थापनाका लागि पहल गरिरहेका लगानीकर्ताहरु कलेज स्थापनमा समेत सहकार्य गर्न तयार देखिन्छन् । विविध विधाका पर्यटकीय गतिविधिहरुमा अनपेक्षित लगानी बढ्नेछ । ठूलो संख्यामा विद्यार्थी नहुने भए पनि तीन सय हाराहारीका नयाँ र गुणस्तरिय विद्यार्थीहरु बजारमा बसोवास गर्ने छन् । त्यति मात्र होइन उनका अभिभावकको आगमन बढ्ने छ । उनिहरु मार्फत पाल्पाको प्रचारमा अर्को भूमिका रहने छ ।
तानसेन बजारको आवश्यकता बजारमा चहल पहल नै हो । यही आवश्यकतालाइ केही हदसम्म पुरागर्न कलेजको यो पहलले मद्धत गर्नेछ । अझै भन्नुपर्दा तानसेनको आर्थिक संरचना परिवर्तनमा समेत भूमिका खेल्नेछ । यहाँ एउटा अत्यन्त रोचक पक्ष के हो भने क्याम्पसको प्रारम्भिक इतिहासमा स्थानीय व्यवसायी, संस्था र सर्वसाधारणको आर्थिक योगदान अहम देखिन्छ । आर्थिक कठिनाइका वावुजुत स्थानीय संस्थाहरू र जनताबाट सहयोग लिएर क्याम्पसलाई सञ्चालनमा निरन्तरता मात्रै होइन की क्याम्पसको वजपूर्ण इतिहास बनाउन सफल भएको हो । यस पक्षलाई हेर्दा बजारको आर्थिक चलायमान बनाउन यहाँकै नागरिक, संस्थाहरुको भूमिका खोजीनु पथ्र्यो । तर त्यसो हुन नसकेपनि कलेजको यो प्रयत्नमा सवै पक्षको गहन सक्रियता जरुरी रहन्छ ।
त्रिभुवन बहुमुखी क्याम्पसले यही निर्णयसंगै अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ । त्यो हो यस कलेजबाट हालसम्म उत्पादन भएको दक्ष जनशक्ति देशविदेशमा छरिएर रहेको छ । यो संख्याको एकिन भइ नसकेको भए पनि २ लाख बढी भएको सामान्य अनुमान गर्न सकिन्छ । विभिन्न डेढदर्जन बढी जिल्लाका विद्यार्थीले अध्ययन गरिसकेको यो सख्या नेपाल भित्र मात्र नभई विश्वका विभिन्न मुलुकमा स्थापित अवस्थामा देखिन्छन् । यो जनशक्तिको क्याम्पसप्रतिको माया हुँदाहुँदै पनि साझा मञ्चको अभावका कारण क्याम्पससँग जोडिने अवस्था नभएकोले त्यस्ता प्रतिभाहरूको अनुभव, ज्ञान,सीप संग कलेज जोडिन सकेको अवस्था छैन । यही अवस्थालाई मध्ययनजर राख्दै कलेजले सबै पूर्व विद्यार्थीहरुलाई जोडनका लागि त्रिभुवन बहुमुखी क्याम्पस भूतपूर्व विद्यार्थी मञ्च तदर्थ समिति गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यस मञ्चले पनि आफूलाई संगठीत गर्दै पहिलो परियोजनाको रुपमा पर्यटन तथा होटल व्यवस्थापनको सञ्चालनमा आफ्नो ध्यान केन्द्रित गर्ने रणनीति बनाएको छ ।
निष्कर्ष :
प्रारम्भिक दिनहरु देखीनै त्रिभुवन बहुमुखी क्याम्पसले पाल्पाको मात्र शिक्षा क्षेत्रमा योगदान गरेको नभई पाल्पा पश्चिमको सामाजिक आर्थिक रुपान्तरणमा गरेको योगदानको बजन गहकिलो भए जस्तै अबको यो नयाँ पहलबाट पनि त्यत्तिकै महत्व राख्ने पर्यटनको विकासमा योगदान गर्ने देखिन्छ । अर्वौ लगानी भएको पर्यटन क्षेत्रमा थप अर्वौ लगानी थप्न यस कार्यक्रमद्धारा मद्धत पुग्नेछ । पाल्पामा पनि यस मार्फत लगानी बढ्ने निश्चित छ । पाल्पाको पर्यटनले प्रत्यक्ष लाभ लिन सक्ने अवस्था यसबाट सिर्जना हुने छ । बजारको समस्याको रुपमा रहेको आर्थिक चहलपहलमा पुरानो इतिहासलाई सम्झाउने छ, सहयोग गर्ने छ । तानसेन नगरपालिका, अन्य स्थानीय सरकारहरु, व्यवसायिक संस्था, पर्यटन सम्वद्ध अंग निकायहरुको सक्रियतामा प्रदेश सरकार र संघ सरकारको ध्यानाकर्षण गराई आवश्यक पूर्वाधार व्यवस्थाका लागि जाइका, जिटिजेड, कोइका, भारतीय दुतावास जस्ता निकायहरु समक्ष पहल गर्न सकिन्छ । यो पाल्पा र पश्चिम क्षेत्रकै पर्यटन क्षेत्रमा रुपान्तकारी प्रभाव पार्ने अभियानमा गाम्भिर्यता प्रदर्शन हुन जरुरी छ ।
(लेखक तानसेन सम्पदा संरक्षण समाजका अध्यक्ष समेत हुन् । )

