Shittalpati
भूपू सैनिक संघ पाल्पाको शुभकामना आदान प्रदान तथा सम्मान  कार्यक्रम

पाल्पा, नेपाली काँग्रेसको भातृ संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले  विजया दशमीको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ । संघले शुक्रबार एक कार्यक्रमको आयोजना  गरी दशैंको शुभकामना तथा नेपाली काँग्रेसको १५ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्यहरु र जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।   

संघले हालै सम्पन्न नेपाली काँग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ र काँग्रेस नेता सन्दीप रानालाई सम्मान गरेको छ ।  यस्तै संघले संघमा आवद्ध ९ जना जेष्ठ नागरिकलाई पनि सम्मान गरेको छ । उसले जेष्ठ नागरिकहरु क्याप्टेन अमर बहादुर थापा, क्याप्टेन पूर्ण बहादुर गाहा, क्याप्टेन पिताम्वर गाहा, हवलदार लालबहालुर  थापा, हवलदार खिमबहादुर थापा, सुवेदार जुद्धविर थापा, सुवेदार केशर बहादुर खाँण, हवलदार झमान सिंह राना, हवलदार खेम बहादुर खाँण लगायतलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका जिल्ला सभापति तथा केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठले समाज र देश निर्माणमा भूतपूर्व सैनिकहरुको योगदान महत्वपूर्ण रहेको बताए । उनले अवकाश प्राप्त सकल दर्जाका सैनिकहरुलाई सेवाकालमा आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाई परेको समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली काँग्रेसको संगठनलाई बलियो बनाएर लैजाने दिशामा आफूलाई अग्रसर गर्न अनुरोध गरे । उनले काँग्रेसको संगठन निर्माणमा समेत भूपू सैनिकको महत्वपूर्ण भूमिका रहेको भन्दै अब नागरिकको जीवनस्तर उकास्न समेत लाग्नु पर्ने धारणा व्यक्त गरे । उनले संघमा आवद्ध भूपुहरुको योगदानको पार्टीले उच्च मूल्यांकन गर्दै संगठनका विभिन्न तह र संरचनामा समेत उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै आएको बताए । संघका केन्द्रीय सदस्य तथा पाल्पाका सल्लाहकार विष्णु गाहाले भूपूको मनोवल बढाउने काममा पार्टीले ध्यान दिनुपर्ने बताए । उनले आफुहरु पार्टीको संगठन निर्माणमा इमान्दारिताका साथ लागेकाले समस्या र अफ्ठ्यारो पर्दा पार्टीले साथ दिनुपर्नेमा जोड दिए ।  नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य रामबहादुर कार्कीले सैनिक संगठनमा सिकेको अनुशासनलाई समाज,राष्ट्र र नेपाली काँग्रेसको संगठनमा उपयोग गर्न पूर्व सैनिकहरुलाई आग्रह गरे ।  कार्यक्रम  नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, भुपु सैनिक संघका पूर्व केन्द्रीय सदस्य क्याप्टेन अमर बहादुर थापा  लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

संघका अध्यक्ष कमल विक्रम खाँणको अध्यक्षता, उपाध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङीको स्वागत, सचिव हिरा सिं रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update