पाल्पा, पाल्पा जिल्लाको तानसेनस्थित शितलपाटीमा सर्वदा आई केयर सञ्चालनमा आएको छ । तिलगंगा आँखा अस्पताल, काठमाडौंबाट विशेषज्ञता हासिल गर्नुभएकी दृष्टि विशेषज्ञ संगीता भट्टराईको नेतृत्वमा आई केयरले दैनिक विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । आई केयरले सेवा शुभारम्भको अवसरमा एकदिने बृहत् निःशुल्क आँखा शिविरसमेत सञ्चालन गरेको थियो । शिविरमा ३६० जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए । तीमध्ये २५ जनालाई थप उपचार तथा शल्यक्रियाका लागि रिफर गरिएको आई केयरले जनाएको छ ।
शिविरमा निःशुल्क आँखा परीक्षणसँगै मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीका लागि एआई प्रविधिमार्फत आँखाको पर्दा परीक्षण गरिएको थियो । त्यस्तै, मोतियाविन्दु, जलविन्दु, आँखाको पर्दा तथा आँखाको नानीको शल्यक्रियामा ५० प्रतिशत छुट, निःशुल्क औषधि तथा चस्मामा २० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । लुम्बिनी नेत्रालय, बुटवलको सहकार्यमा सञ्चालन गरिएको शिविरबाट सेवा पाएपछि सेवाग्राही उत्साहित भएका थिए । आई केयरमा हाल दैनिक १५ देखि २० जनासम्मले आँखा परीक्षण गराउँदै आएका छन् । सेन्टरले आकस्मिक (इमर्जेन्सी) सेवासमेत प्रदान गर्दै आएको जनाएको छ । यहाँ बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको छ । तानसेनमा गुणस्तरीय विशेषज्ञ सेवा सहितको आँखाको उपचार हुन थालेपछि यस क्षेत्रका नागरिकलाई सहज भएको स्थानीय किशोर भट्टराईले बताए । उनले भने “यहाँ गुणस्तरीय विशेषज्ञ सेवा नहुँदा यहाँका नागरिक बाहिर जानुपर्ने अवस्था थियो, अहिले यही विशेषज्ञसहित सेवा प्रदान हुन थालेपछि निकै सहज भएको छ ।”
केयरले कम्प्युटराइज्ड प्रविधिमार्फत दृष्टि परीक्षण, आँखाको पावर नाप्ने, टाढा तथा नजिकको धमिलोपनाको सटिक परीक्षणलगायतका सेवा दिँदै आएको छ । यसका साथै आँखाको मांसपेशीसम्बन्धी परीक्षण, मांसपेशी कमजोर भएर आँखा डेढो भए÷नभएको जाँच, आवश्यक उपचार तथा थेरापी, कलर भिजन टेस्ट र न्यून दृष्टिसम्बन्धी सेवा पनि उपलब्ध रहेको छ । त्यसैगरी, कन्ट्याक्ट लेन्स फिटिङ तथा परामर्श, आवश्यकता अनुसारका विभिन्न प्रकारका लेन्स तथा फ्रेमलगायतका सेवा पनि आई केयरबाट प्रदान हुँदै आएको जनाइएको छ ।


