Shittalpati
रिब्दीकोटमा मैत्रीपूर्ण फुटबल : जनप्रतिनिधिलाई हराउँदै कर्मचारी विजयी

भरत शर्मा
पाल्पा,
जिल्लाको रिब्दीकोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । पालिकाले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।

खेलमा जनप्रतिनिधिलाई हराउँदै कर्मचारीको टिम विजयी भएको छ । कर्मचारीले जनप्रतिनिधिलाई ०–२ गोलले हराए । पहिलो हाफसम्म दुुवै टीमबिच गोलरहित प्रतिस्पर्धा भएको खेल दोस्रो हाफको १० मिनेटमा जनप्रतिनिधिको टीमले आत्मघाती गोल गरी १ गोलले पछि परेको थियो । यसैगरी खेलको १४ औं मिनेटमा कर्मचारीहरुले पाएको पेनाल्टीलाई विनोद भूषालले सही उपयोग गरी गोल हान्न सफल भए । २ गोल आफ्नो पक्षमा पार्दै कर्मचारीको टिम विजयी भएको हो । गाउँपालिकाका प्रवक्ता तथा वडा नं . ६ का वडा अध्यक्ष प्रकाश रायमाझीले खेलको सुरुदेखि अन्त्यसम्म उत्कृष्ट खेल खेलेर दर्शकलाई आश्चर्य चकित पारेका थिए ।

जनप्रतिनिधि र कर्मचारीबिच सुुमधुुर सम्बन्ध कायम राख्दै आत्मियता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष नरायणबहादुर कार्कीले बताए । खेलले आपसी भाइचार स्थापित गरी गाउँपालिका भित्रको कामकाज गर्न कर्मचारी र जनप्रतिनिधिबिच सौहार्दपूर्ण वातावरण कायम राख्न मद्धत मिल्ने प्रमुख प्रशासकिय अधिकृत मणी खनालले विश्वास व्यक्त गरे । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई गाउँपालिका अध्यक्ष कार्कीले प्रमाणपत्र र मेडल प्रदान  गरेका थिए । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update