Shittalpati
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती   

पाल्पा, पहाडी जिल्ला पाल्पा पनि औलोको जोखिममा छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको छ । यहाँका स्थानीय तहहरुमा  स्थानीय र आयातीत औलोबाट संक्रमित विरामीहरुको संख्या बढ्दै गएपछि पाल्पा पनि औलोको जोखिममा रहेको हो । 

जिल्लामा चालु आर्थिक वर्षको ९ महिनामा ६ जना औलोका बिरामी पुष्टि भएका छन् । औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय पाल्पाले आयोजना गरेको एक कार्यक्रममा कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार ६ जनामा औलो पुष्टि भएको जानकारी दिए । उनले भने‘ ६ जनामध्ये ५ जना आयातीत र १ जना स्थानीय औलोबाट संक्रमित  रहेका छन् ।’ यहाँको पूर्वखोला गाउँपालिका औलोको उच्च जोखिममा रहेको छ । यहाँ चालुआर्थिक वर्षमा १ जना स्थानीय औलोबाट संक्रमित भएका छन् । जसले गर्दा यो पालिका जोखिममा रहेको डा. गिरीले बताए । तानसेन नगरपालिकामा १, रामपुर नगरपालिकामा २ र माथागढी गाउँपालिकामा २ जना व्यक्तिमा औलो देखिएको छ । जुन आयातीत औलोबाट संक्रमित विरामीहरु हुन् ।  कामको खोजीमा छिमेकी मुलुक भारत जाने नेपालीहरुमा औलो देखिने क्रम बढेसँगै आयातीत औलोबाट संक्रमित विरामीको संख्या  पनि बढ्दै गएको हो । आयातीत औलोबाट संक्रमित ५ जना महाराष्ट्र, दिल्ली, गुजरादबाट आएकामा  देखिएको डा. गिरीले बताए । 

पछिल्लो ५ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा १५ जनामा औलो पुष्टि भएको छ । जसमा आर्थिक वर्ष २०७६/०७७ मा २ जना, २०७७/०७८ मा १ जना, २०७८/०७९ मा १ जना, २०७९/०८० मा ५ जना र २०८०/०८१ मा ६ जनामा औलो पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  १५ जना मध्ये १४ जना आयातीत औलोबाट संक्रमित विरामी हुन् । मौसममा आएको परिवर्तन, लामखुट्टे वृद्धि हुँदै जानुले औलोका बिरामी पहाडी जिल्लामासमेत देखा पर्न थालेका छन् ।  नेपालमा सन् २०२५ सम्म औलो रोग निवारण गर्ने सरकारी लक्ष्य तोकिएको भए पनि स्थानीय र आयातीत औलोका कारण पूरा हुन मुश्किल देखिएको छ । जिल्लामै बसोबास गर्ने भन्दा बाहिरबाट फर्केका मानिससँगै आउने आयातित औलोबाट संक्रमितहुने बिरामीको संख्या बढी छ । यसले सरकारको लक्ष्य प्राप्तिमा चुनौति थपेको डा. गिरीले बताए । उनले भने ‘पाल्पामा स्थानीय मलेरियाका विरामीदेखिनु, आयातीत औलोका विरामीहरु बढ्दै जानु, कीटनाशकयुक्त झूल तथा विषादी माग अनुसार व्यवस्थापनमा कठिनाई,आर्थिक स्रोतको अभाव, स्थानीय तहमा औलो सम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मी तथा इन्टोमोलोजिष्टहरुको अभाव, मलेरिया टेस्टकिट आवश्यकता अनुसार प्राप्त नहुनु जस्ता कुराहरुले औलो निवारणमा थप चूनौति रहेको छ ।’ 

औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्षमुनिका बालबालिका बढी जोखिममा हुन्छन् । संक्रमितलाई स्वास्थ्य कार्यालय विशेष निगरानी बढाएको  डा. गिरीले बताए । उनका अनुसार सरकारी स्वास्थ्य संस्थाहरुमा औलोको परीक्षण तथा उपचार निशुल्क उपलब्ध हुँदै आएको छ । स्वास्थ्य कार्यालय पाल्पाले औलो निवारणका लागि औंलो विरामीहरुको आधारमा जोखिम क्षेत्रमा सक्रिय खोजपड्ताल, सिमा नाका तथा समुदायमा शंकास्पद विरामीको रक्त परीक्षण तथा रोग बारे सचेतना, जोखिमयुक्त क्षेत्रहरुमा झुल वितरण तथा किटनाशक विषादी छिड्काउ जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा औलोका प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइभेक्स गरी दुई प्रजातिका परजीवी पाइने गरेको छ । विहीबार पाल्पासहित देशभर ‘औलो विरुद्धको लडाईलाई तिव्रता दिऔं, समतामूलक पहुँचको सिर्जना गरौं’ भन्ने नारासहित विश्व औलो दिवस मनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update