Shittalpati
कम्युनिष्ट एकताको चर्चा

पछिल्ला केही दिन यता कम्युनिष्ट पार्टी एकताको कुराले चर्चा पाएको छ । विशेषगरी दुई प्रमुख घटक–माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) बीचको एकताको सम्भावना अन्तिम चरणमा पुगेको छ । तर राजनीतिक, ऐतिहासिक र वैचारिक कारणले यो प्रक्रिया सहज छैन । जेन–जी आन्दोलनपछि राजनीतिक दलहरू भित्री मत र नेतृत्व विभाजनको अवस्थामा पुग्नु र दलहरुप्रति जनता असन्तुष्टि हुनुले दुई कम्युनिष्टहरु एक हुन खोजेको देखिन्छ । के उनीहरु अब एक ठाउँमा आउन सक्छन् ? यो विषयले कौतुवलता सिर्जना गरेको छ । हुन त विगतमा कम्युनिष्टहरु एक ठाउँमा आउन खोजेपनि आउन नसकेका घटना छन् । जसले गर्दा यी दुई दलहरु पनि एक ठाउँमा आउन्छन् भनेर विश्वास गरिहाल्न सकिदैन । तर माओवादीको एकताको कुरालाई अन्यथा लिनु पनि हुँदैन । वास्तवमा शान्ति प्रक्रियामा आएयता माओवादीमा विचलन नआएको भए उक्त पार्टी सबैभन्दा सबल पार्टीका रूपमा रहनसक्ने सम्भावना थियो तर त्यसो हुन सकेन ।

अब प्रतिनिधिसभा निर्वाचनमात्र चार महिनामै आउन लागेको छ । यसबीचमा दलहरूले नीति, कार्यक्रम र रणनीति मिलाएर जनतासामु जानुपर्नेछ । जनताले विश्वास गरेर मतदान गर्नसक्ने अवस्था तयार गर्नु अत्यावश्यक छ । तर, अहिले तत्काल त्यस्तो अवस्था देखिँदैन । यस परिस्थितिमा हुने एकता वा विभाजन स्थायी रहने सम्भावना न्यून छ । अहिले जसरी पार्टीहरू जोडिन लागेका छन्, भविष्यमा त्यसरी नै छुट्टिनसक्ने सम्भावना प्रबल छ । यसर्थ, राजनीतिक उत्साह वा खिन्नता लामो समय टिक्ने छैन । नेपालका कम्युनिष्ट पार्टीहरूको इतिहासले देखाउँछ–एकताको सपना सधैं चुनौतीपूर्ण रहन्छ र वास्तविक स्थायित्वका लागि वैचारिक स्पष्टता, नेतृत्व क्षमता र जनसहभागिता अपरिहार्य छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update