पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका सामान बरामद गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा भन्सार छली गरी ल्याइएका कस्मेटिक सामग्री तथा कपडासहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
प्रहरीले असोज १८ गते तानसेन नगरपालिका–६, सिद्धार्थ राजमार्ग सडकखण्डमा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ३ च ३४९५ नम्बरको भ्यानलाई रोकी चेकजाँच गर्दा भन्सार छली गरी ल्याइएको आशंका गरिएका विभिन्न प्रकारका कस्मेटिक सामान फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । बरामद गरिएका कस्मेटिक सामानको प्रारम्भिक अनुमानित मूल्य रु. ९ लाख ७३ हजार ८ सय २० बराबर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै असोज २० गते जिल्लाको तिनाउ गाउँपालिका–३, चेकपोस्टस्थित सिद्धार्थ राजमार्गमा पनि प्रहरीले भन्सार छली गरी ल्याइएको सामान बरामद गरेको छ । प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले बुटवलतर्फबाट तानसेनतर्फ आउँदै गरेको लु प्र ०१–००१ ज ०४४८ नम्बरको विद्युतीय गाडीलाई चेकजाँच गर्दा विभिन्न प्रकारका कपडा बराम गरेको हो । गाडीबाट कुर्था १०९ थान र साडी १५ थान बरामद गरिएको छ । बरामद कपडाको अनुमानित मूल्य रु. २ लाख ४८ हजार बराबर रहेको जनाइएको छ । बरामद गरिएका सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए । पाल्पा हुँदै बुटवल, रुपन्देही तथा पहाडी जिल्लातर्फ आवतजावत गर्ने सिद्धार्थ राजमार्ग भन्सार छली गरी विभिन्न सामग्री ओसारपसार गर्नेहरूले प्रयोग गर्न सक्ने सम्भावित मार्ग भएकाले प्रहरीले यस क्षेत्रमा चेकजाँचलाई प्राथमिकता दिँदै आएको छ ।
पछिल्लो समय प्रहरीले सवारीसाधनमाथि नियमित निगरानी बढाउँदै शंकास्पद सामग्रीको ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । प्रहरीका अनुसार भन्सार छली गरी सामान ल्याउँदा राज्यले प्राप्त गर्ने राजस्वमा प्रत्यक्ष असर पर्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न राजमार्गमा हुने चेकजाँचलाई थप प्रभावकारी बनाइने छ । शंकास्पद रूपमा ओसारपसार गरिएका सामग्री, कागजात तथा सवारीसाधनको जाँचलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।


