Shittalpati
तीनदिने दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव

पाल्पा, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा सञ्चालित तीनदिने ‘दसैं–तिहार विशेष विद्यार्थी प्रतिभा उत्सव–२०८३’ विविध रचनात्मक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ । विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने, बौद्धिक क्षमता र सिर्जनशीलताको विकास गर्ने तथा आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उत्सव असोज २०, २१ र २२ गते सञ्चालन गरिएको थियो । उत्सवअन्तर्गत वक्तृत्वकला प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, शुभकामना आदान–प्रदान, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको पहिलो दिन वक्तृत्वकला प्रतियोगिता र दोस्रो दिन हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । तेस्रो दिन आयोजित समापन समारोहमा विजेता तथा सहभागीहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुका साथै दसैं–तिहारको शुभकामना आदान–प्रदान गरिएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा १७ जना विद्यार्थीले नाम दर्ता गरी सहभागिता जनाएका थिए । प्रतियोगितामा साधना भट्टराई प्रथम, बिपसा राना द्वितीय, अन्जु गैरे तृतीय तथा कृतिसा सारुले सान्त्वना स्थान हासिल गर्न सफल भए । प्रतियोगिताले विद्यार्थीहरूमा आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता, तार्किक चिन्तन, आत्मविश्वास तथा अभिव्यक्ति कलाको विकासमा योगदान पु¥याएको आयोजकले जनाएको छ ।

त्यस्तै, हाजिरीजवाफ प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक र उत्साहपूर्ण वातावरणमा सम्पन्न प्रतियोगितामा प्रकाश देवकोटा, सुजल भट्टराई र तारा माश्र्याङ्दीको टोली प्रथम भएको थियो । आकृति अधिकारी, सुदिका खनाल र सिम्रन बन्जाडेको टोली द्वितीय तथा विवेक पौडेल, रचना बेलबासे र रञ्जिता दलार्मीको टोली तृतीय भएका थिए । प्रतियोगिताले विद्यार्थीहरूको सामान्य ज्ञान, बौद्धिक क्षमता, समूहगत समन्वय र प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गरेको थियो ।

उत्सवको समापन समारोह तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालीको प्रमुख आतिथ्य तथा क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । समारोहमा क्याम्पस कार्यसमितिका सदस्यहरू, सहायक क्याम्पस प्रमुखहरू, विद्यार्थी कल्याण प्रमुख, प्राध्यापक संघ त्रिवि इकाईका सभापति, प्राध्यापक तथा उपप्राध्यापक, कर्मचारी, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । स्ववियु अध्यक्ष मिलन घर्ती मगरको अध्यक्षता,स्ववियु सदस्य नवीन थापाको स्वागत, स्ववियु सदस्य सपना विश्वकर्माको  सञ्चालनमा कार्यक्रम भएको थियो ।

तीनदिने कार्यक्रम सफल बनाउन विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगप्रति स्वतन्त्र विद्यार्थी युनियनले आभार व्यक्त गरेको छ । कार्यक्रमका लागि तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिङ्जालीबाट १० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो । त्यसैगरी, नेपाल बैंक लिमिटेड, पाल्पा शाखाका शाखा प्रमुख सुरज अधिकारीबाट हाजिरीजवाफ प्रतियोगिताको पुरस्कारका लागि सहयोग प्राप्त भएको थियो । मदनपोखरा ढाका उद्योगबाट आर्थिक सहयोग, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष समीरमान सिंहबाट सहयोग तथा सिटलपाटीस्थित कान्तिपुर स्टेसनरीबाट तीन हजार रुपैयाँभन्दा बढी मूल्य बराबरका प्रमाणपत्र तथा सम्मानपत्रका लागि सहयोग प्राप्त भएको स्ववियुले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update