Shittalpati
विपद् न्यूनीकरणमा सामूहिक जिम्मेवारी आवश्यक

आज अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संंयुक्त राष्ट्र संघको महासभाले अक्टोबर १३ लाई अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको रुपमा मनाउने निर्णय गरे अनुसार सन् १९८९ देखि हरेक वर्ष यो दिवस विश्वव्यापी रुपमा मनाउँदै आइएको हो । यस दिवसले विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, सचेतना र सामूहिक प्रयासको महत्वलाई उजागर गर्दछ । यस दिवसको मुख्य उद्देश्य विपद्को जोखिमबारे जनचेतना अभिवृद्धि गर्नु, विपद् व्यवस्थापनका प्रभावकारी उपाय अवलम्बन गर्न प्रेरित गर्नु र सुरक्षित तथा उत्थानशील समाज निर्माण गर्नु हो । नेपालजस्तो भौगोलिक र भौगर्भिक दृष्टिले संवेदनशील मुलुकका लागि यस दिवसको विशेष महत्व छ । नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, चट्याङ, आगलागी, खडेरी तथा जलवायु परिवर्तनका कारण उत्पन्न विभिन्न विपद्को उच्च जोखिममा रहेको छ । हरेक वर्ष यस्ता विपद्का कारण ठूलो मात्रामा जनधनको क्षति हुनुका साथै विकास निर्माणका कार्य प्रभावित हुने, पूर्वाधारमा क्षति पुग्ने र नागरिकको जनजीवन कष्टकर बन्ने गरेको छ । विशेषगरी अव्यवस्थित सहरीकरण, वन विनाश, कमजोर भौतिक संरचना, नदी तथा खोलाको अतिक्रमण र वातावरणीय असन्तुलनले विपद्को जोखिमलाई थप बढाएको छ । प्राकृतिक घटना रोक्न नसकिए पनि उचित योजना, सावधानी र पूर्वतयारीमार्फत त्यसबाट हुने क्षति भने उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।

विपद् व्यवस्थापनमा विपद् आइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित हुने प्रवृत्तिभन्दा जोखिम पहिचान, न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिनु आवश्यक छ । जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित आवास निर्माण, प्रभावकारी पूर्वसूचना प्रणाली, आपत्कालीन उद्धार टोलीको तयारी र आवश्यक राहत सामग्रीको व्यवस्थापनले विपद्का बेला हुने क्षति कम गर्न मद्दत पुर्‍याउँछ । विद्यालय, अस्पताल, सरकारी कार्यालय तथा सार्वजनिक संरचनालाई विपद् प्रतिरोधी बनाउनु पनि उत्तिकै चालन गर्नुपर्छ । विपद् जोखिम न्यूनीकरण सरकारको मात्र जिम्मेवारी होइन । स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र आम नागरिक सबैको साझा दायित्व हो । संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै विपद् व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रमलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्छ ।  विपद् आउनुअघि नै सचेत हुने, जोखिम पहिचान गर्ने, आवश्यक तयारी गर्ने र विपद्पछिको पुनःस्थापनालाई दिगो बनाउने संस्कार विकास गर्न सकेमा मात्र सुरक्षित समाजको परिकल्पना साकार हुनेछ । विपद् जोखिम न्यूनीकरण खर्च होइन, भविष्यको सुरक्षा र समृद्धिका लागि गरिएको लगानी हो । विपद् भएपछि पछुताउनुभन्दा विपद् आउनुअघि नै तयारी गर्नु बुद्धिमानी हो । त्यसैले अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको सन्देशलाई व्यवहारमा उतार्दै सरकार, समुदाय र नागरिक सबैले हातेमालो गर्न जरुरी छ । 

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update