Shittalpati
भोली तानसेनमा जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै

पाल्पा, जिल्लाको तानसेनमा भोली जेन–जीको राष्ट्रिय सम्मेलन हुँदै छ ।  आन्दोलनमा संलग्न सबै समूहलाई एकीकृत गरी एकता, सुशासन र भ्रष्टाचार अन्त्यको सन्देश राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले राष्ट्रिय सम्मेलन हुन लागेको हो ।

जेनजीले शुक्रबार तानसेनमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनको तयारीको पुरा भएको जनाएको छ । सम्मेलनमा देशका ६५ वटा जिल्लाका जेनजी प्रतिनिधिहरु, प्रदेश संयोजकहरु र केन्द्रीय जेनजी अभियन्ताहरुको सहभागिता रहने जनाइएको छ ।

   पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनका अगुवा विज्ञान घिमिरेले सम्मेलनले निकाल्ने निष्कर्ष र पाल्पा घोषणा पत्रले देशभरका जेन–जीहरु एक भएर अगाडि बढ्ने बताए । उनले भने “पाल्पाबाट जेन–जीको राष्ट्रिय एकताको सन्देश दिन सम्मेलन गर्दैछौं ।” सम्मेलनले राष्ट्रिय सन्देशसहितको दस्तावेज तयार गर्ने अगुवा घिमिरेले बताए । उनले पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ दिदैं अहिले  जेनजीहरु विभिन्न खेमामा देखिए पनि उनीहरुलाई छिट्टै एक ढिक्का बनाउने गरी काम भएको बताए । उनले भने “ जेनजीहरुको नेतृत्व गर्नेहरुको विस्तारै पहिचान हुँदै गएको छ । हामी सबै जेनजीहरुलाई एकै ठाउँमा ल्याएर नयाँ सोच र परिवर्तन गर्ने दिशामा छौं । ” परिवर्तन चाहनेहरुलाई सम्मेलनमा सहभागी हुन पाल्पाका जेनजी अगुवा उमेश भण्डारीले आग्रह गरे । उनले भष्टाचार नियन्त्रण र सुशान कायम राख्दै राष्ट्रिय  एकता स्थापित गर्न  पाल्पाको सम्मेलन महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे । उनले जेनजी परिवर्तनको बाटोमा अगाडि बढेकाले कोही पनि डराई हाल्न नपर्ने स्पष्ट पारे । जेनजीबाट आम नागरिकमा डर त्रास पैदा भइरहेको भन्ने पत्रकारहरुको जिज्ञासामा उनले भने “गलत नगर्नेहरु हामीसँग डराउनु पर्दैन, तर भ्रष्टाचार गर्नेहरुलाई भने हामीले कानुन सम्वत रुपमा खबरदारी भने गर्छौं ।”  भण्डारीले अब आउदै गरेको निर्वाचनमा घुस खाने र भ्रष्टाचार गर्नेहरुलाई रोक्नु हाम्रो मुख्य उद्देश्य रहेको समेत बताए । सम्मेलनमार्फत नै दलहरूलाई भ्रष्टाचारको अन्त्य गराउने प्रतिवद्धता जनाउन आग्रह गरिने पनि उनको भनाई छ ।

सम्मेलन तानसेन नगरपालिकाको हलमा शनिबार ठिक ११ बजेदेखि सुरु हुने पाल्पाका अर्का जेनजी अगुवा सुशिल बस्यालले बताए । उनले सम्मेलनमा चार सय जनाको सहभागीता रहने जानकारी गराए । सम्मेलनमार्फत युवाहरुको आवाजलाई नीतिगत रुपमा राष्ट्रियस्तरमा पु¥याउने, शिक्षामा सुधार, रोजगारीको अवसर र नेतृत्व विकासको ठोस योजना सार्वजनिक गरिने, जेनजी बडापत्र सार्वजनिक गरिने, जेनजी आन्दोलनका क्रममा मृत्यु भएका जेनजीहरुको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिने, स्थानीय तहका जनप्रतिनिधिहरुको परिचयका लागि स्थानीय तहका प्रमुखहरुको तस्वीर प्रर्दशन गरिने जानकारी गराए ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update