Shittalpati
पाल्पाका नयाँ प्रजिअ पाण्डेद्वारा पत्रकारसँग भेटघाट

पाल्पा, पाल्पामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले मंगलबार पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिन पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।

पत्रकारसँगको छलफलमा उनले जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन आफु लागि पर्ने बताएका छन् । प्रजिअ  पाण्डेले प्रशासनिक कामको सुधारसँगै अरु धेरै कामहरुमा सुधार ल्याएर सेवा ग्राहीलाई सेवामैत्री वातावरण तयारमा ध्यान दिने बताए । उनले आफु जति समय जिल्लामा बस्छु त्यो समय जिल्लाको शान्ति सुरक्षा र विकास निर्माणका काममा सहजीकरण गर्ने उल्लेख गरे । भेटघाटको क्रममा पत्रकारहरुले जिल्लामा टिपर अनियन्त्रित रुपमा सञ्चालन भएको, अत्याधिक ओभरलोड बोक्दा समेत प्रहरी मुखदर्शक भएको लगायतका गुनासाहरु राख्दै सोही अनुसारको भूमिका निर्वाह गर्न प्रजिअ पाण्डेलाई आग्रह गरेका छन् । त्यस्तै स्थानीय मिडियाहरुलाई दिगो राख्नका लागि स्थानीय सूचना, विज्ञापनहरुलाई जिल्लाका मिडियाहरुमै दिने व्यवस्थाको प्रवन्ध मिलाउन पनि प्रजिअ पाण्डेलाई पत्रकारले सुझाव दिएका छन् ।  कार्यक्रममा पत्रकार महासंघ  पाल्पाका जिल्ला अध्यक्ष  कमलराज तिमिल्सेना, निवर्तमान अध्यक्ष रेखिराम राना, महासंघका संस्थापक सचिव भरत शर्मा लगायतले आ–आफ्ना धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले पत्रकारले उठाएका विषय वस्तुमा आफ्नो ध्यान जाने र आगामी दिनहरुमा सुझाव सल्लाह दिनसमेत आग्रह गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update