 
                                                                    पाल्पा, तानसेन नगरपालिकाले कात्तिक १६ गते आइतबार सार्वजनिक बिदा दिएको छ । तानसेन–१४ रुरुक्षेत्र (रीडी) स्थित ऋषिकेश मन्दिरमा कार्तिक शुक्ल द्धादशीका दिन सिन्दुर रथजात्रा (रथयात्रा) मनाइने भएकाले असोज २६ गते बसेको नगरपालिकाको बैंठकले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
नेपालको चार धाम मध्येको एक धार्मिक, सांस्कृतिक धरोहरका रुपमा रहेको नेपालकै एक प्रसिद्ध तिर्थस्थलको प्रचार–प्रसार गर्न र सिन्दुर रथायात्राको महिमा बढाउन बिदा दिइएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । सो दिन नगर कार्यापालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक बाहेक ) विद्यालय लगायत मतहतका निकायहरुमा स्थानीय सार्वजनिक विदा दिइएको छ । शुक्रबार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरीले एक सूचना नै प्रकाशित गरी विदा दिइएको जनाएका छन् ।
पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरु क्षेत्र (रिणी)मा रहेको ऋषिकेश मन्दिरलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालिगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् । पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी एकादशीको भोलिपल्ट रथ यात्रा निकालिने परम्परा छ । यस्तै माघे सङ्क्रन्तिमा तीन दिन यहाँ धार्मिक मेला समेत लाग्ने गर्दछ । कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमामोक्ष प्राप्त हुने विश्वास रहेको छ । यो क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । जसकाकारण यस क्षेत्रको महिमा नेपालबाहिर पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।
.jpg)


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    