Shittalpati
प्रधानाध्यापकका आफन्त परेपछि शिक्षक छनोट परीक्षा रद्द

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित दुर्गा भवानी माध्यमिक विद्यालय देउरालीमा प्राथमिक तहका लागि सञ्चालन गरिएको अस्थायी करार शिक्षक छनोट परीक्षा रद्द गरिएको छ । प्रधानाध्यापकका आफन्त नै परीक्षामा सहभागी भई उत्र्तिण भएपछि परीक्षाको निष्पक्षतामाथि प्रश्न उठेको  थियो । परीक्षामा सहभागी परीक्षार्थीहरूले परीक्षा प्रक्रियामाथि छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पामा निवेदन दिएपछि परीक्षा रद्द भएको हो ।

परीक्षामा ४१ जना सहभागी भएकामा प्रथम पत्रमा दुई जना मात्रै उत्तीर्ण भएका थिए । उत्तीर्ण दुवै जना विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर खत्रीका नजिकका आफन्त रहेको भन्दै परीक्षार्थीहरूले उत्तरपुस्तिका पुनर्योग तथा परीक्षा प्रक्रियाको छानबिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

निवेदनपछि प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिँदै गाउँपालिकालाई छानबिन गर्न निर्देशन गरेका थिए । “जिल्ला प्रशासनमा निवेदन परेको छ । छानबिन नभएसम्म शिक्षक भर्ना प्रक्रिया रोक्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइसकेका छौँ, अहिले परीक्षा रद्द भएको छ ”उनले भने । परीक्षार्थी निशा न्यौपानेले  पहिलो पत्रमै ४१ जनामा दई जना मात्र उत्तीर्ण हुनु त्यसमा पनि प्रधानाध्यापकका नजिकका दुई जना परीक्षार्थी मात्र उत्तीर्ण हुनुले परीक्षा प्रक्रियाको निष्पक्षतामै शंकास्पद लागेर छानबिनको लागि माग गरेको सामाजिक सञ्जालमार्फत बताएकी छन् ।

गाउँपालिकाले समेत प्रारम्भिक छानबिनका क्रममा शिक्षक छनोट समितिका पदाधिकारीका नजिकका आफन्त परीक्षामा सहभागी भएको पाइएपछि परीक्षा, नतिजा र त्यससँग सम्बन्धित सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले परीक्षा सञ्चालनमा निष्पक्षता र गोपनीयता कायम भएको विश्वास गर्ने अवस्था नरहेको जनाएको छ । साथै जिल्ला प्रशासन कार्यालय तथा अन्य अनुसन्धान गर्ने निकायबाट हुने थप अनुसन्धानमा सहयोग गर्ने र आवश्यकताअनुसार कारबाही अघि बढाउने जनाएको छ । गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीले आफन्त परीक्षामा उत्तीर्ण भएपछि परीक्षा प्रक्रियामाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताए । उनले एक सूचना सार्वजनिक गर्दै परीक्षा रद्द गरिएको जानकारी गराएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update