Shittalpati
आगलागी प्रभावितको राहत र उद्धारमा खटिन गुल्मी काँग्रेसको अपिल

पाल्पा, नेपाली काँग्रेस गुल्मीले आगलागी प्रभावितको राहत र उद्धारमा खटिन सबैमा अपिल गरेको छ ।  काँग्रेसले प्रभावितहरुको उद्धार, राहत र उचित बसोबासको व्यवस्थाका लागि तीनै तहका सरकार, राजनीतिक दल, विभिन्न संघसंस्था, स्वदेश तथा विदेशमा रहनुहुने सबैमा अपिल गरेको हो ।  

केही दिन यता गुल्मीका विभिन्न स्थानमा आगालागीका कारण ठूलो परिमाणमा घर, गोठ, पशुचौपाया जल्नुुको साथै केही नागरिकहरु घाइते भएको घटनाले पार्टी मर्माहत एवं दुःखी भएको भन्दै राहत र उद्धारमा खटिन काँग्रेसले सबैमा आग्रह गरेको छ । उसले  प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीनै तहका सरकारसँग माग समेत गरेको छ ।

सोमबार काँग्रेस जिल्ला सचिव जगदीश भट्टराईले अपिलमार्फत पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुको उचित उपचारको व्यवस्था गर्न संघीय, प्रदेश र स्थानीय सरकारसमक्ष माग गरेका हुन् । ‘डढेलोको यो विपतमा आम नेपाली नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दै सरकार, राजनैतिक दलहरु, संघ/संस्था, स्वदेश तथा विदेशमा रहनुहुने सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली काँंग्रेस गुल्मी हार्दिक अपिल गर्दछ’ सचिव भट्टराईले अपिलमार्फत भनेका छन् ।

विपतको अवस्थामा तीनै तहका सरकारहरु समेतको समन्वय र सहयोगमा उद्धार, घाइतेहरुको सर्वशुलभ उपचार र राहतको कार्यमा राज्यका सबै निकायहरुलाई युद्धस्तरमा परिचालन गर्न÷गराउन सबै पक्षसँग जोडदार माग गरिएको अपिलमा उल्लेख छ ।

गत शनिबार जिल्लाको इस्मा गाउँपालिका वडा नं १, २ र ४ मा नजिकैको जंगलबाट सल्केको डढेलोले २४ घर, ४८ गोठ जलेका र ४० भन्दा बढी पशुचौपाया मरेका काँग्रेसले जनाएको छ । यस्तै आगो निभाउने क्रममा इस्मा गाउँपालिका–१ का १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ का २१ वर्षीय प्रेम राना घाइते भएकोमा उनीहरुको सर्वसुुलभ उपचारमा ध्यान दिइन पनि काँग्रेसले सम्बन्धित निकायलाई आग्रह गरेको छ । इस्मा गाउँपालिकासँगै रेसुङ्गा, गुल्मीदरबार, रुरु, मदाने, छत्रकोट र मालिका गाउँपालिकामा समेत डढेलोका कारण करोडौंको भौतिक क्षति हुन पुगेको, खानेपानीका पाइपहरु जल्नुुको साथै विद्युत् आपूर्तिमा अवरोध भएको, पिडित नागरिकहरु खुला आकाशमा रात कटाउन बाध्य भएको  अपिलमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update