काठमाडौँ, नेपाली काँग्रेसको वडा तहको अधिवेशनमा आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम आज र भोलि हुँदैछ ।
अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ ।
वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जिल्ला निर्वाचन अधिकृतहरूले जिल्ला तथा स्थानीय तहका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यहरूसँग निर्वाचन प्रक्रियाबारे आवश्यक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका तयारी पूरा गरिसकेको समितिले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशनका सम्बन्धमा फैलिन सक्ने अफवाह तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गर्दै निर्धारित मिति असोज ३ र ४ गते हुने निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई अनुरोध गरेको छ ।

