Shittalpati
लोकतन्त्र दिवसको सन्दर्भ

आज वैशाख ११ गते, अर्थात् १८ औँ लोकतन्त्र दिवस । देशभर नै यो दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । २०६२÷०६३ सालको दोस्रो जनआन्दोलनको सफल समापनपछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको समाप्ति भएको एउटा विशिष्ट दिनका रुपमा समेत यस दिनलाई स्मरण गर्ने गरिन्छ । नेपालमा लोकतन्त्र स्थापना भएको पनि १७ वर्ष बितिसकेको छ । यस अवधिमा मुलुकले धेरै आरोह अवरोह पार गरेको छ । राजसंस्थाको अन्त्य गरी जनताको प्रत्यक्ष शासन सञ्चालन हुँदै आएको छ । तर लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि नागरिकको आधारभूत आवश्यकता परिपूर्ति हुन सकेको छैनन् । यो अत्यन्त दुःखको कुरा हो । यसबीचमा थुपै्र सरकार गठन भए पनि जनताले भने लोकतन्त्रको अनुभूत गर्न सकेका छैनन् । लोकतान्त्रिक व्यवस्थामा विकास, लोकतन्त्र÷ गणतन्त्रका अनेकौं विषय र सवालमा बहसहरू भए÷भइरहेका छन् । तर, ती बहसले लोकतन्त्र÷गणतन्त्रलाई संस्थागत गर्न उपयुक्त बाटो पहिल्याउन नसक्नु विडम्वना हो । 

लोकतन्त्रले त जनताका पीरमर्कालाई नजिकबाट आत्मसात् गर्न सक्नुपर्छ । अहिले मुलुकमा तीन तहका सरकार छन् । तर पनि आमनागरिकले समृद्धि र विकासको वास्तविक अनुभूति गर्न सकेका छैनन् । अझै दुःखी, गरिब र विपन्न जनताको चुलोमा राम्ररी आगोसमेत बल्न सकेको छैन । भ्रष्टाचार, अनियमितता, कमिसनतन्त्रको जरा अहिले पनि मौलाएकै अवस्थामा छ । लोकतान्त्रिक व्यवस्थालाई जनताको प्रत्यक्ष शासन भएको व्यवस्थाका रुपमा अथ्र्याइए पनि त्यसो नहुुनुु विडम्वना हो । संसदीय प्रक्रियाको हकमा त्यो लागू भैरहेको देखिए पनि व्यवहारिकरुपमा भने दलीय नेतृत्व तहमा रहेका केही सीमित व्यक्ति मोटाउनु बाहेक लोकतन्त्रको खास उद्देश्यले काम गर्न नै सकिरहेको छैन । सोझो अर्थमा हेर्दा जनताले छानेका प्रतिनिधिहरुले शासन व्यवस्था सञ्चालन गरिरहेको नदेखिने होइन, त्यसका बाबजुद देशलाई आर्थिकरुपमा टाट पल्टाउन र जनताको दैनिक जीवन कष्टकर बनाउन लोकतान्त्रिक पद्धतिलाई नै प्रयोग गर्ने गरिएको पाइएको छ । जसका कारण अहिले संसदीय व्यवस्था नै बदनाम हुँदै गैरहेको छ भन्दा अन्यथा हुँदैन । यसर्थ राजनैतिक नेतृहरुले व्यक्तिगत र दलीय स्वार्थभन्दा बृहत्तर राष्ट्रिय स्वार्थमा ध्यान केन्द्रित गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा लैजानेतर्फ अग्रसर भई लोकतान्त्रिक संस्कार र व्यवहारको विकास गर्न सके मात्र लोकतन्त्र दिवस मनाउनुुले मात्र सार्थकता प्राप्त गर्न सक्छ अन्यथा दिवस औपचारितामै सिमित हुने निश्चित छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update