Shittalpati
सोमबार पाल्पामा थप १० जनामा कोरोना पुष्टि

पाल्पा । पाल्पामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार ६ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो । तानसेनस्थित काजिपौवामा रहेको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा तानसेन नगरपालिका तथा यहाँका अस्पतालका ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, रैनादेवी छहरा गाउँपालिकाका २ जना, बगनासकाली र रम्भा गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै पाल्पामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय ७३ पुगेको छ । संक्रमित मध्ये १ हजार १ सय ९३ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । तोकिएको मापदण्ड पूरा गरेर १४ दिन होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेकाहरुले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

पाल्पामा अहिलेसम्म २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या २ सय ६० पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ७ सय ५३ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ७३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०७७  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update