Shittalpati
पाल्पामा कोरोनाका कारण ७७ वर्षीय पुरुषको मृत्यु

पाल्पा, पाल्पामा कोरोनाबाट ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । बगनासकाली ७ का ७७ वर्षीय पुरूषको बुधबार उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । दम र सुगरको समस्याबाट ग्रसित रहेका ति पुरुष गत शनिबार अस्पताल भर्ना भएका थिए । उनको गाउँपालिकाले कोरोनाको लक्षण देखिएपछि असोज २७ गते स्वाव संकलन गरेको थियो । ति पुरुषको असोज ३० गते मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक मणिराम अधिकारीले बताए । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।
यसअघि पूर्वखोला गाउँपालिका १ सिलुवाका एक पुरूष, तानसेन नगरपालिका ८ पिपलडाँडाकी एक महिला, तानसेन नगरपालिका ७ का ५२ वर्षीय पुरुषको, तानसेन नगरपालिका–१४, कुसेनीकी ४२ वर्षीया महिला, तानसेन नगरपालिकाका ७ का एक जना पुरुष र तानसेन २ का एक जना पुरुषको मृत्यु भएको थियो ।

                                          बुधबार थप २७ जनामा कोरोना पुष्टि

पाल्पामा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई प्राप्त विवरण अनुसार तानसेनका १७ जना, माथागढीका ५ जना, पूर्वखोलाका १ जना, बगनासकाली २ जना, रिब्दीकोटका २ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा थपिएका २७ जना संक्रमितसँगै कुल संक्रमितको संख्या एक हजार ४१ पुगेको छ । पाल्पामा अहिलेसम्म ७ सय ७० जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय ६४ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ३ सय ३३ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ५५ जना स्वास्थ्यकर्मी रहेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update