Shittalpati
पाल्पामा कोरोनाबाट थप दुई पुरुषको मृत्यु, मृतकको संख्या ६ पुग्यो

पाल्पा । पाल्पामा कोरोना संक्रमणबाट थप दुई जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई सोमबार प्राप्त विवरण अनुसार तानसेन नगरपालिकाका ७ का एक जना र २ का एक जना पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण तानसेन २ अशनटोलका ८५ वर्षीय पुरुषको युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको छ । उनको शनिबार मृत्यु भए पनि सोमबार मात्र रिपोर्ट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । ति पुरुष स्वास्थ्यमा समस्या भएपछि मिसन अस्पताल पुगेका थिए । उनलाई कोरोनाको लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेको थियो ।

त्यस्तै गत असोज ३० गते तानसेन नगरपालिका–७ बर्तुङका ३३ वर्षीय पुरुषको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा मृत्यु भएको छ । मिर्गौलामा समस्या देखिएपछि अस्पतालमा डायलिसस गराइरहेका ती पुरुष अस्पताल भर्ना भएका थिए । पिसीआर परीक्षण गर्दा उनमा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पाल्पामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको छ ।

सोमबार थप ३० जनामा कोरोना

पाल्पामा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका १५ जना, पूर्वखोला गाउँपालिकाका ६, निस्दीका ३, रिब्दीकोटका ३, बगनासकालीका र रामपुर नगरपालिकाका १ र रैनादेवी छहराका १ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका संक्रमितमध्ये २१ जना पुरुष र ९ जना महिला छन् । जिल्लामा थपिएका ३० जना संक्रमितसँगै कुल संक्रमितको संख्या एक हजार २१ पुगेको छ । पाल्पामा अहिलेसम्म ७ सय ७० जना निको भएर घर फिर्ता भएका छन् ।

पाल्पामा अहिले कुल सक्रिय संक्रमितको संख्या २ सय ४५ पुगेको छ । उनीहरु सबै होम आइसोलेशन र केही अस्पतालमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समयमा समुदायस्तरमा समेत कोरोना फैलिएको छ । जिल्लामा अहिलेसम्म ३ सय ६ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ५३ जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update