Shittalpati
विश्व क्यान्सर दिवस मनाइदैं

पाल्पा,विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइदैं छ । ‘विश्वभरि हाम्रो आवाज एकजुट हो र कारवाही’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आएको हो ।
विश्वको तथ्यांक हेर्दा एक वर्षमा १ करोड ८१ लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ । त्यसमध्ये करिब ९० लाख मानिसको क्यान्सरबाटै मृत्यु हुने गरेको छ । नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुन्छ । चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सकहरु बताउँछन् । क्यान्सर लागेर ज्यान गुमाउनेमध्ये २२ प्रतिशत धुमपानका कारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विकसित राष्ट्रमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएको संगठनले जनाएको छ ।

क्यान्सर विश्वमा मृत्युको दोस्रो प्रमुख कारण हो । मुटुसम्बन्धी रोगबाट सबैभन्दा धेरै मान्छेको ज्यान जाने गरेको छ । थकान महसुस हुने, तौल घट्नु, भोक नलाग्नु, निल्न गाह्रो हुनु, पेट दुख्ने वा वाकवाकी लाग्ने, शरीरमा कतै सुन्निने वा गाँठो हुनु, स्तन वा शरीरको अन्य भागमा गाढा हुनु वा गाँठो हुनु, छालामा परिवर्तनहरू जस्तै रगत बग्ने वा पहेंलो हुनु क्यान्सरका लक्षण हुनु । नयाँ कोठी वा कोठीमा परिवर्तन, निको नहुने घाउ, पिसाब जाँदा दुखाइ, पिसाबमा रगत आउनु वा धेरै वा कम पटक पिसाब जानुपर्ने जस्ता पिसाबथैलीमा परिवर्तन, ज्वरो वा राति पसिना आउने आदि लक्षण पनि क्यान्सरका हुन सक्छन् ।

यस्ता लक्षण लामो समयसम्म देखिए चिकित्सकको सल्लाह लिनुपर्छ । धूम्रपान, सूर्तीजन्य पदार्थ तथा मद्यपानको सेवन नगर्ने, तौल नियन्त्रणमा राख्ने, स्वस्थकर सन्तुलित आहार खाने, फलफूल तथा तरकारी, शारीरिक क्रियाकलाप व्यायाम गर्ने, रक्सी सेवन कम गर्ने, तोकिएका उमेर समूहले Þयुमन प्यापिलोमा भाइरस र हेपटाइटिस बी विरुद्ध खोप लगाउने गर्दा क्यान्सरबाट बच्न सकिने चिकित्सकहरुको भनाई छ ।

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update