Shittalpati
आज साउने संक्रान्ति लुतो फालेर मनाइँदै

पाल्पा, आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व देशभर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन हरेक वर्ष साउने संक्रान्तिका रुपमा मनाइने गरिन्छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने परम्परा रहेको छ ।


आजको दिन रोगब्यादी नलागोस् भनेर लुतो फाल्ने चलन पनि छ । परम्पराअनुसार भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ । चारै दिशामा बलेको अउल्टो फ्यांकेर सबै रोगब्यादी लैजा भन्ने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रमा उल्लेख छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शड्ढ फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।

साउन महिनामा विशेषरुपमा भगवान् शिवको पूजा पनि गरिन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि छ । साउन महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ । साउन महिना शिवजीको र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । यसवर्ष कोरोना भाइरसको संक्रमणका कारण आफन्तकहाँ जान सहज छैन । यसैले धेरैले घरमै परिवारका सदस्यबीच रमाइलो गरी पर्व मनाउँदै छन् । माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन पृथ्वीको उत्तरी गोलार्ध अर्थात् उत्तर तर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिण गोलार्धमा अर्थात् दक्षिणतर्फ यात्रा गर्ने भएकोले दक्षिणायन पनि आजकै दिनदेखि सुरु हुन्छ । दक्षिणायनको बेला रातहरु लामो र दिनहरु छोटो हुने गर्दछन् । दक्षिणायनमा विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभ कार्य गर्नु उचित मानिदैन । तर यो समयमा इच्छा, कामना र भोगको वृद्धि हुने भएकाले यस बेला चोखो नितो गरेर लिईएको व्रत एवं गरेको पुजा आराधनाले रोग र शोक मेटिने विश्वास रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update