Shittalpati
पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण

पाल्पा,पाल्पाली अग्रज साहित्यकार सुब्बा स्व. कृष्णप्रसाद लाकौलद्वारा लिखित ‘तीर्थयात्रा दैनिकी’ र ‘गितासार’ कृतिको लोकार्पणसँगै विमर्श गरिएको छ । सोमबार पाल्पा साहित्य समाजले आफ्नो ३१ औं स्थापना दिवसको अवसरमा उक्त कृतिको लोकार्पणसँगै विमर्श गरेको हो । 

लाकौलले वि.सं.१९३७ र १९६७–१९६८ सालतिर लेखेका विषयहरुको पाण्डुुलिपीहरु कृतिका रुपमा प्रकाशनमा ल्याइएको छ । उक्त कृतिको समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, संरक्षक राजेन्द्र गोपाल सिंह,  सहल्लाहकार चित्रवलीराम सुवाल, प्रकाशक/कृतिकारका सन्ततिहरू वनमाली लाकौल, रूप किशोर लाकौल, भारत किशोर लाकौल, समीक्षकहरू विजय सागर ,विश्वराज पौड्याल लगायतले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । 

कृतिको लोकार्पण गर्दै समाजका संरक्षक तथा अतिथि राजेन्द्र गोपाल सिंहले लेखक लाकौल एक असाधारण प्रतिभाशाली धार्मिक व्यक्तित्व, अद्भूत दूरदर्शी र नविनतम् चिन्तक रहेको बताए ।  उनले भने‘तत्कालिन समयमा शिक्षाको विकास र विस्तार नभएको अवस्थामा  पनि नेवार परिवारमा जन्मिएर तीर्थयात्रा दैनिकी, गितासार , तारोपनिषद् जस्ता कृतिहरु लेख्नु चानचुने कुरा होइन, यसलाई अद्भूत र आश्चर्यजनक उपलब्धी नै मान्नुपर्छ ।’ संरक्षक  सिंहले पाल्पाको साहित्यिक इतिहासमा पाल्पालीका निम्ति प्रकाशित कृति ऐतिहासिक मात्र नभई समग्र नेपाली साहित्यमै भावी पुस्ताका लागि प्रेरणाको स्रोत समेत रहने विश्वास व्यक्त गरे । 

कार्यक्रममा समीक्षकहरू विजय सागरले तीर्थयात्रा दैनिकी र विश्वराज पौड्यालले गितासारका बारेमा समीक्षा गरेका थिए । सोही अवसरमा कृतिकार कृष्णप्रसाद लाकौलका नाति, अक्षर पुरूष पुस्तक पढने दलान ( धवल पुस्तकालय ) का संस्थापक अम्बिका प्रसाद लाकौलका सुपुत्र वनमाली लाकौलले. १ लाख  र  रूपकिशोर लाकौलले ५५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना समेत गरिदिएका छन् । 
समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, वनमाली लाकौलको स्वागत, रूपकिशोर लाकौलको धन्यवाद, समाजका सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update