पाल्पा, आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अक्टोबर ९ तारिखका दिन मनाइने यो दिवस नेपालसहित विश्वरभर मनाउन लागिएको हो ।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्थाको आधिकारिकता पाएको यो संघ विश्वव्यापी रुपमा अत्यावश्यक सेवा का रुपमा रहेको छ । हुलाक सेवाको विश्व हुलाक प्रणालीमा विश्व हुलाक संघ स्थापना भएको दिन अक्टोवर ९ लाई संसारभर विश्व हुलाक दिवसका रुपमा मनाइने गरिन्छ । विक्रम संवत् १९३५ सालमा ‘नेपाल हुलाक घर’ स्थापना गरी औपचारिक रुपमा हुलाक सेवा सुरु गरेको नेपालले सन् १९५६ अक्टोबर ११ (वि.सं.२०१३ असोज २६) मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेसँगै नेपाल पनि विश्व हुलाक मञ्चको सक्रिय सदस्यका रुपमा क्रियाशील रही आफ्नो पहिचान कायम गर्दै आएको छ ।सूचना प्रविधिको जमानामा पनि हुलाक सेवाको आवश्यकता अझै छ । आधुनिक डिजिटल प्रणालीले समेट्न नसकेको महत्वपूर्ण क्षेत्रमा हुलाकले अझै पनि सेवा प्रदान गरिरहेको छ । प्रविधिको कारणले इमेल, च्याट र भिडियो कललगायतका कामहरु गर्न सकिन्छ । तर, भौतिक वस्तुहरु एक ठाउँबाट अर्काे ठाउँमा पठाउन हुलाक वा लजिस्टिक सेवाको नै आवश्यकता पर्छ । विश्वव्यापीरुपमा बढिरहेको अनलाइन किनमेल (ई–कमर्स)ले हुलाक सेवालाई नयाँ जीवन दिएको छ ।
सामानहरु खरिद–बिक्री (पार्सलहरु) अन्तिम उपभोक्ताको हातसम्म पु¥याउने काम हुलाक सेवाको मुख्य जिम्मेवारी हो । महत्वपूर्ण कागजातलाई कानुनीरुपमा प्रमाणित गर्न र सुरक्षितरुपमा पठाउनका लागि हुलाकको दर्ता चिठी वा एक्सप्रेस मेल सेवा अपरिहार्य हुन्छ । डिजिटल प्रतिलिपिहरुको तुलनामा भौतिक प्रतिलिपिहरुको कानुनी महत्व फरक हुन्छ । नेपालजस्ता देशहरु जहाँ अझै पनि धेरै ग्रामीण र दुर्गम क्षेत्रहरुमा भरपर्दो इन्टरनेट वा निजी कुरियर सेवाको पहुँच पुगेको छैन । त्यस्तो ठाउँमा सरकारी हुलाक सेवा नै चिठीपत्र, आधिकारिक सूचना र सामान्य पार्सलहरु पठाउने एकमात्र भरपर्दो माध्यम हो । हुलाक सेवाले पठाउने व्यक्तिलाई डेलिभरीको प्रमाण र ट्रयाकिङ सुविधा दिन्छ । जसले गर्दा पार्सलहरु सही व्यक्तिसम्म पुगेको सुनिश्चित गर्न सकिन्छ ।


