Shittalpati
तानसेनमा हुने ‘लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को तयारी अन्तिम चरणमा

पाल्पा, अमूल्य सम्पदा, ऐतिहासिक पहिचान र स्थानीय संस्कृतिलाई सिनेमाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ पाल्पाको सदरमुकाम तानसेनमा सञ्चालन हुने ‘लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव  २०८३’ तयारी अन्तिम चरणमा पुगेको छ ।  तानसेन नगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा, कथा मण्डला, काठमाडौँ तथा सञ्चार मञ्च पाल्पाको संयुक्त आयोजनामा यही असोज २२ देखि २४ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक पक्षले  जनाएको हो ।

दर्शकहरुले महोत्सवमा प्रर्दशन हुने जुनसुकै चलचित्रहरु  निःशुल्करुपमा हेर्न पाउने छन् । महोत्सव तानसेनको सन्तोष चलचित्र मन्दिरमा  गरिने छ  । बुद्ध जन्मस्थल लुम्बिनीका ऐतिहासिक एवं पर्यटकीय क्षेत्रसँगै, लुम्बिनी प्रदेशका विविध किसिमका कला संस्कृति, भेषभुषा, रहन सहन, जातीगत पहिचान, खानपान, रहन सहन, खानपान लगायतका विविध विषयबस्तुमा विश्वस्तरका चलचित्रहरु महोत्सवमा देखाईने  पत्रकार सम्मेलनमार्फत महोत्सवका संयोजक कथा मण्डलाका संयोजक पाण्डव खत्रीले जानकारी दिए ।

सांस्कृतिक रूपमा समृद्ध तानसेनको भाषा, कला र सम्भावनालाई विश्वसामु उजागर गर्न यो महोत्सव आयोजना गर्न लागिएको, स्थानीयस्तरमा आफूहरुको पूर्ण सहयोग रहेको पाल्पा संचारमञ्चका अध्यक्ष माधव अर्यालले बताए । महोत्सव केवल चलचित्र प्रदर्शन मात्र नभई, लुम्बिनी प्रदेश १२ वटै जिल्ला र  पाल्पाको मौलिक संस्कृति, खानपान, भेषभूषा र पर्यटकीय स्थलहरूमा आगामी दिनमा चलचित्र छायाङ्कनको वातावरण निर्माण गर्ने दीर्घकालीन लक्ष्य राखिएको आयोजक कथा मण्डलाले जनाएको छ । यो अभियानले समग्र पाल्पाको  आर्थिक तथा सामाजिक विकासमा ठूलो टेवा पुर्‍याउने विश्वास आफुले लिएको पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले बताए ।  

महोत्सव अवधिभर नेपालसहित विश्वका विभिन्न देशका २६ वटा चलचित्र प्रदर्शन गरिनेछ । जसमा नेपाली फिचर कथानक चलचित्र, लघु कथानक चलचित्र, वृत्तचित्रका साथै अन्तर्राष्ट्रिय स्तरका फिचर तथा लघु चलचित्रहरू समावेश छन् । चलचित्र छनोटमा सामाजिक महत्व, मौलिक कथा, सांस्कृतिक पक्ष र कलात्मक गुणस्तरलाई मुख्य प्राथमिकता दिइएको छ । चलचित्र प्रदर्शनपछि दर्शक र सम्बन्धित चलचित्रका निर्देशक, निर्माता तथा कलाकारहरूबीच प्रत्यक्ष संवाद गराइने कार्यक्रम रहेको छ । यसले दर्शकलाई सिनेमा निर्माण प्रक्रिया, विषयवस्तु र सिर्जनात्मक पक्ष बुझ्न मद्दत पुग्नेछ ।  यसका साथै लुम्बिनी प्रदेशको कला, संस्कृति, पर्यटन र समृद्धिका विविध विषयमा क्षेत्रगत विशेषज्ञ, नीति निर्माता, स्थानीय तहका प्रतिनिधि र चलचित्रकर्मीहरूको सहभागितामा प्यानलगत छलफलहरू समेत सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सव सम्पन्न गर्न करिब २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवमा स्वदेशी तथा विदेशी गरी ५ हजारभन्दा बढी दर्शक, चलचित्रप्रेमी र पर्यटकको सहभागिता रहने अपेक्षा गरिएको तानसेन पर्यटन वोर्डका संयोजक एव वडा नंं ६ का वडा अध्यक्ष सागरमान महर्जनले बताए । महोत्सव सिङ्गो लुम्बिनी प्रदेशकै साझा सांस्कृतिक उत्सव भएकाले यसलाई भव्य रूपमा सम्पन्न गर्न प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, पर्यटन व्यवसायी, विभिन्न संघ–संस्था र सञ्चार माध्यमको सहयोग र सहकार्यमा सम्पन्न हुने अपेक्षा आयोजक पक्षले गरेको छ । चलचित्र महोत्सवमा लुम्बिनी प्रदेसका मुख्यमन्त्री चेतनारायण आचार्य सहित मन्त्रीहरु, चलचित्रका नायकहरु निर शाह, शर्मिला मल्ल, धिरेन शाक्य लगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।  पत्रकार सम्मेलन सञ्चारमञ्च पाल्पाका अध्यक्ष माधव अर्यालको अध्यक्षता र महासचिव रेखीराम रानाको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update