Shittalpati
पाल्पाली साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण

 पाल्पा,साहित्यकार तथा उपप्राध्यापक भावना खनालद्धारा लिखित ‘भाव संगम’ कविता संग्रहको लोकापर्ण गरिएको छ । उनको कृतिको विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकापर्ण गरेको हो । 

कविता संग्रहको पाल्पा सदरमुकाम तानसेमा विहीबार पाल्पाली साहित्यकार चोलेश्वर शर्माले लोकापर्ण गरेका हुन् । लामो समय साहित्यिक क्षेत्रमा क्रियाशिल रहँदै आएकी खनालले पहिलो कृतिका रुपमा कविता संग्रह प्रकाशन गरेकी हुन् । उनले २०६७ देखि छन्द कविता लेख्ने प्रयास गरे पनि अहिले सार्थकता प्राप्त गरेको बताईन् । लेखक खनालले भनिन्‘ मैले २०६७ देखि लेख्दै आएका कविताहरुलाई संकलन गरी संग्रहरुपमा प्रकाशन गरेकी हुँ । मलाई घर, परिवार आफन्तजन, साथीभाई सबैको सहयोग र शुभेच्छुकहरुका कारण कविता संग्रह निकाल्न सफल भएकोमा खुसी  छु ।’ उनले कविता संग्रहलाई तेस्रो सन्तानको रुपमा जन्म दिएको बताईन् । लेखक खनालले आफ्ना दुईवटा छोराको जन्म दिएको र अहिले कृति पनि सन्तानकै रुपमा प्रकाशनमा ल्याएको उल्लेख गरिन् । उनले कृति प्रकाशनले आफुमा थप जिम्मेवारी थपिएको भन्दै आगामी दिनमा थप ओझिलो र सशक्त बनाएर लैजाने बताईन् । लेखक खनालले नारीवादी, समाज, राष्ट्र र परिवारका बेदना कवितामार्फत चित्रण गर्न खोजिएको उल्लेख गरिन् ।  आफ्नै आमा तिला कुमारी बस्याल प्रकाशक रहेको कृतिमा ६० वटा कविता संलग्न छन् । लेखक खनाल बहुमुखी प्रतिभा भएकी साहित्यकार नारी हुन् । उनी शिक्षण पेशासँगै विभिन्न साहित्यिक संघसंस्थाको नेतृत्व तहमा समेत रहेकी छन् । साहित्यकार खनाल विश्व नेपाली साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशकी अध्यक्ष समेत हुन् ।  

कृतिमाथि टिप्पणी गर्दै साहित्यकार  तथा विश्व नेपाली साहित्य प्रतिष्ठान दाङका अध्यक्ष कृष्ण डिसीले परिस्कृतवाद र छन्दवादको समिश्रणले कविता भरिपूर्ण रहेको बताए । उनले शिर्षक दृष्टिका रुपमा ६० वटै कविता सार्थक रहेको उल्लेख गरे । साहित्यकार डिसीले प्रकृतिको उद्गार गर्ने काम कविताले गरेको र कविताको सम्पूर्ण भाव  शिर्षकमा अटाएको बताए । कवितामा ३ सय ५१ वटा श्लोक रहेको उनले जानकारी दिए । समिक्षक डिसीले अलंकारीक दृष्टिले कविता उत्कृष्ट रहेको बताए । उनले कथन पद्धतिको ढाँचा, प्रणय, मानवतावादी, देशभक्ति चेतना कवितामा भेटिने गरेको समेत उल्लेख गरे । अर्का समिक्षक तथा प्रतिष्ठानकी सल्लाहकार लक्षीमा ज्ञवालीले भावनाका कविता छन्दवद्ध रहेको बताईन् । उनले कविता पठनीय र सान्दर्भीक रहेको उल्लेख गरिन् । समिक्षक ज्ञवालीले भनिन्‘ कविताले देश, समाज र परिवारको प्रेम भाव बोलेको छ । कतै राष्ट्रप्रति कुण्ठ, आक्रोस, पनि भेटिन्छ । समग्रमा कविताले दिने सन्देश अत्यन्त चेतनाले भरिपूर्ण र नदी झै सललल बगेको छ । ’ 

कार्यक्रममा प्रमुख अतिथि हास्यव्यंग्य साहित्यकार चोलेश्वर शर्माले  नेपाली साहित्यको क्षेत्रमा लेखक खनालले इटा थप्ने काम गरेको बताए । उनले आगामी दिनमा लेखन कार्यलाई थप शसक्त ढंगले अगाडि बढाउन समेत लेखक खनाललाई आग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख टंक भट्टराई, प्रतिष्ठान प्रदेशका सल्लाहकार नारायण प्रसाद पन्त, साहित्यकार तथा वरिष्ठ पत्रकार चन्द्र भण्डारी,    समाजसेवी राजन प्रसाद पन्त, धवल पुस्तकालयका अध्यक्ष युवराज पौड्याल, साहित्यकार तथा उपप्राध्यापक डा. शंकर गैरे, नवजनचेतना राष्ट्रिय दैनिकका उपसम्पादक रामचन्द्र रायमाझी लगायतले कृति सफलताको शुभकामना व्यक्त गरे । प्रतिष्ठानका सल्लाहकार रामप्रसाद अर्यालले लेखकका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा साहित्यकारहरु गुणवती केसी, सरु ज्ञवाली, रिता न्यौपाने लगायतले कविता वाचन  गरेका थिए ।  प्रतिष्ठान जिल्ला अध्यक्ष रमा पन्तको अध्यक्षता, सदस्य सविता भट्टराईको स्वागत, सचिव आयाम कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।    

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update