Shittalpati
चैते दसैँ : हराउँदै  महत्व, बिर्सिंदै नयाँ पुस्ता

पाल्पा, एक दशक अघिसम्म परम्परागत चैते दसैंको छुट्टै रौनक थियो । लोक गायक टीका क्षेत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो । अहिले रेकर्ड गरिएका ति आधुनिक गीतले पाका पुस्तालाई चैते दसैं फेरिएको मात्र हैन त्यसको महत्व नै घटेको महशुस हुन्छ । बढ्दो आधुनिकतासँगै पहिलाको चैते दसैं र अहिलेको चैते दसैंको रौनकतामा व्यापक परिवर्तन आएको पुराना पुस्ताका व्यक्तिहरु बताउँछन् ।

पहिले चैते दसैँ भन्ने बित्तिकै अर्को दसैँकै झझल्को आउने गरेको पाल्पा रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीका ७८ वर्षीय विष्णु पोखरलले बताए । उनी भन्छन् ‘पहिले–पहिले चैते दसैंमा उम· हुन्थ्यो, हामी मामा घर जान्थ्यौ, गाउँ घरमा खसी काट्न्थ्यिो, टिका टालो हुन्थ्यो तर अहिले त्यस्तो पाइदैन ।’ नयाँ पुस्ताले चासो नदिदाँ पर्वको महत्व घट्दै गएको पोखरेलको भनाई छ । अचेल कतिलाई चैते दसैँंको हेक्का समेत छैन । क्यालेण्डर हेक्का नराख्ने हो भने चैते दसैँको ज्ञान कमैलाई हुने गरेको छ । तानसेनका २१ वर्षीय राजेश गाहाले चैते दसैँबारे खासै थाहा नभएको सुनाउँछन् । उनी भन्छन्, ‘चैते दसैँ भन्ने थाहा छ, तर यसको महत्व र महिमाबारे राम्रोसँग जानेको छैन ।’ चैते दसैँ मनाउने तरिकामा पनि परिवर्तन आएको धेरैले महशुस गरेका छन् । पहिला–पहिला सबैतिर चहलपहल हुन्थ्यो, अहिले यसप्रति मानिसहरुको मोह घटेको छ । सोमबार माइत जान भनेर तानसेनस्थित गुल्मी घुम्टीरोडमा गाडी कुरिरहेकी गुल्मी तम्घासकी सुनिता घर्तीले पनि पहिले–पहिले जस्तो चैते दसैँको रौनक नभएको बताइन् । उनले भनिन् ‘पहिले –पहिले माइत, मामा घर तथा आफन्तकोमा जानेहरुको भिड र रौनक हुन्थ्यो तर खै आजभोली कसैलाई पनि चासो भएको देखिदैनन् ।’ पहिले यो दसैँको महत्व थियो । घर, गाँउ र समाजमा चैते दसैँलाई प्राथमिकता दिइन्थ्यो’ घर्तीले भनिन्, ‘अहिले मानिसहरु ब्यस्त भएका छन् । संस्कृतिप्रति खासै ध्यान छैन ।’ चैते दसैँ सनातन धर्मावलम्बीका लागि बडा दसैँ जस्तै महत्व बोकेको पर्व हो । चैत शुक्ल अष्टमीमा भवानी दुर्गाको उत्पत्ति भएको र नवमीमा रामको कथासँगै अवतारवादको सन्दर्भसहित चैते दसैँ मनाइने गरिन्छ । मिठो मसिनो खाँदै मंगलबार आज चैते दसैँ मनाईदै छ । 

हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दसैँ मनाउने परम्परा छ । चैते दसैँका दिन बिहानदेखि घर–घरमा देवीको पुजा आजा गरि टिकाटालो गर्ने चलन छ । यस दिन आफ्ना मामाघर, माइत, ससुराली लगायत आफन्तको घरमा गएर मान्यजनको हातबाट टिका थाप्ने चलन छ । अशोजको दसैँमा जस्तो यो दसैँमा पहेँलो जमराको भने प्रयोग हुँदैन । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दसैँ हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुई पटक मनाउने गर्दछन् । असोजमा मनाइने दसैंलाई बडादसैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दसैंंलाई चैते दसैँ । आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापुजाको विशेष महत्व रहेको शास्त्रमा वणिर्त छ । चैते दसैंको दिन देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । हिन्दु धर्मालम्वीहरुले आज चैते दसैँ मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गर्दछन् । आज अशोकको फूल खाने पनि गरिन्छ । फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ । आजको दिन छोरी चेली लगायत दिदीबहिनी अनि कुटुम्भहरूलाई बोलाएर खुवाउने चलन रहेको छ । चैते दसैँमा विगत केही वर्ष यता सरकारले सार्वजनिक विदा भने दिएको छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update