विश्व शौचालय दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिँदै आइएको छ । मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । तर बढ्दो शहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानवबस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौति बढेर गएको छ । विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट बञ्चित छन् । नेपालमा पनि अझै ४ दशमलव ५ प्रतिशत अर्थात् ३ लाख १ हजार ४ सय ९० मानिस शौचालयको पहुँच बाहिर रहेको पाइन्छ । हचुवाको भरमा खुला दिशामुक्त घोषणा गर्दा अहिले पनि आमनागरिकले समस्या झेल्नु परेको छ । नेपालका धेरै जिल्ला खुला दिसामुक्त घोषणा भए पनि कार्यान्वयमा यो लागू हुन सकेको छैन ।
पाल्पालाई पनि २४ चैत्र २०७४ मा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसामुक्त घोषणा गरिएको ८ वर्ष पुग्दा पनि यहाँका शहर र राजमार्गमा भने पर्याप्त शौचालय छैनन् । पर्याप्त सार्वजनिक शौचालय नहुँदा यात्रुले चर्को समस्या झेल्नुपरेको छ । भएका शौचालयहरू पनि प्रयोगलायक छैनन् । सरकारले सार्वजनिक शौचालयको महत्व नदिएको होइन, गरिबी निवारण रणनीतिक योजनामा सरकारले सन् २०१७ सम्ममा सबै नेपालीको हकमा सुरक्षित खानेपानी तथा आधारभूत शौचालयको पहुँच पु¥याउने लक्ष्य राखेकोबाट यसको पुष्टि हुन्छ । तर, सरोकारवालाहरू सरकारले लक्ष्य अनुसार काम नगर्दा लाखौं नागरिक संविधानले ग्यारेन्टी गरेको स्वास्थ्य सम्बन्धी न्यूनतम सुविधा शौचालय प्रयोगबाट समेत बञ्चित हुनु परेको छ । शौचालय व्यवस्थापन हुन नसक्दा अनेक किसिमका रोगहरूको जन्म भएको छ । मानिस स्वस्थ रहन शौचालयको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्दछ । शौचालय सफा र व्यवस्थित गरे मात्र पनि मानिस केही हदसम्म निरोगी र स्वस्थ रहन सक्छ । यसर्थ विश्व शौचालय दिवसले शौचालय व्यवस्थापन गर्ने दिशामा आमनागरिकलाई सचेत र सजग बनाउन सके दिवस मनाउनुले सार्थकता राख्न सक्छ । अन्यथा दिवस औपचारिकतामै सिमित बन्ने छ ।

