पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरीमा ट्याक्टर दुर्घटना भएको छ । आज साझाँ भुवनपोखरीको दमारखोलाबाट धान लोड गरेर गाउँतर्फ जाने क्रममा रोकी राखेको लु ३ त ३३२ नम्वरको ट्याक्टर गुड्न गई दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्थानीय ६५ वर्षीय मान बहादुर गाहाको मृत्यु भएको वडा अध्यक्ष प्रदीप पौडेलले जानकारी दिए । उनका अनुसार गाहाको घटनास्थलमै मृत्यु भएको हो । पौडेलले भने“ घटनाको विषयमा थप अनुसन्धानको लागि जिल्लाबाट प्रहरीको टोली आउँदै छ । अहिले हामीले गाहालाई ट्याक्टरले च्यापिएको अवस्थाबाट बाहिर निकालेका छौं ।”
दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ५८ वर्षीय गोपीबहादुर राजकोटी रहेका छन् । उनको खुट्टामा चोट लागेको छ । ट्याक्टर चालक मीनबहादुर बुढाथोकी भने सकुशल रहेका छन् । दुर्घटनाको खबर थाहा पाउन साथ जिल्लाबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।


