
पाल्पा,पछिल्लो समय युट्युब र मेमोरी कार्डबाट गीत बजाएर देउसी–भैलो खेल्न थालेपछि मौलिकपना हराउँदै गएको छ । विकृति र विसंगतिलाई निरुत्साहित गर्दै देउसी र भैलो मौलिक शैलीको हुनुपर्छ भन्ने सन्देशसहित जिल्लामै पहिलो पटक देउसी भैलो कार्यक्रम हुन लागेको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाको आयोजना, तानसेन नगरपालिकाको संरक्षकत्व र तानसेन–५ वडा कार्यालयको सह आयोजनामा कार्तिक १ गते पाल्पाको तानसेनस्थित श्रीनगर साँस्कृतिक डबलीमा मौलिक देउसी भैलो कार्यक्रम हुन लागेको हो ।
प्रतिष्ठानले विहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीका बारेमा जानकारी गराएको छ । प्रतिष्ठानका अध्यक्ष कमल भट्टराईले मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रम गर्न लागिएको बताए । उनले भने “लोक संस्कृति संरक्षण गर्नु हाम्रो दायित्व हो, स्थानीय सरकारको सहयोगमा हामीले देउसी भैलो कार्यक्रम गर्न लागेका हौं । ” कार्यक्रमको तयारी तिव्र पारिएको अध्यक्ष भट्टराईले बताए । पाल्पाली बरिष्ठ गायक नारायण रायमाझीको विशेष उपस्थितिमा कार्यक्रम गर्न लागिएको उनले बताए । कार्यक्रममा विभिन्न समुदायको मारुनी नाँच, सोरठी, झ्याउरे समेत देखाइने अध्यक्ष भट्टराईले जानकारी दिए।उनका अनुसार कार्यक्रम हेर्न कुनै पनि शुल्क लाग्दैन । कार्यक्रममा विभिन्न स्थानीय, राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।
पत्रकार सम्मेलन कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले प्रतिष्ठानले लोकसंस्कृति संरक्षणमा देखाएको चासो र सक्रियता प्रशसंनिय रहेको बताए।उनले कार्यक्रम सफल पार्न पाल्पाली पत्रकारहरुको पूर्ण सहयोग रहने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा तानसेन –५ का वडा अध्यक्ष रामबहादुर रावलले संस्कृति संरक्षण गर्ने उद्देश्य राखेर श्रीनगर डबली निर्माण गरिएको भन्दै त्यसको उपयोग गर्ने दिशामा प्रतिष्ठानले चासो देखाएकोमा वडा कार्यालयले आवश्यक सहयोग र सहजीकरण गर्ने बताए । उनले संस्कृति संरक्षण गर्ने दायित्व सबैको साझा भएकाले यसको प्रचार प्रसार गरिदिन जिल्लाका पत्रकारहरुलाई आग्रह गरे । प्रतिष्ठानका पूर्व अध्यक्ष तथा लोक गायक हुम गैरेले कार्यक्रम सफल पार्न सबै लाग्नुपर्नेमा जोड दिए । प्रतिष्ठानका अध्यक्ष भट्टराईको अध्यक्षता, उपाध्यक्ष रुपेश कार्कीको स्वागत, कार्यक्रम संयोजक पवन बस्यालको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।