पाल्पा,नेकपा एमाले पाल्पाले यही कार्तिक २९ गते शनिवार तानसेनमा गर्न लागेको र्याली सहितको जनप्रदर्शनको तयारी पुरा भएको जनाएको छ । नेकपा एमाले प्रचार विभागले बिहीबार तानसेनमा पत्रकार भेटघाट गरी जनप्रदर्शनको तयारी पुरा भएको जनाएको हो ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि गठन भएको वर्तमान शुसिला कार्कीको सरकार असंवैधानिक भएकाले देशलाई संवैधानिक बाटोमा फर्काउनको लागि संसद पुर्नस्थापना सहितको माग राखी जनप्रदर्शन गर्न लागिएको पाटी पोलिटिव्युरो सदस्य ठाकुर गैरेले बताए । संसद पुर्नस्थापन मार्फत जेनजी मुद्दाहरुलाई सम्बोधन गर्ने गरी संविधान शंसोधन, जेनजीको सहभागीतामा सर्वदलिय सरकार, सर्वदलिय सरकारमार्फत तत्काल निर्वाचन गरी नयाँ जनप्रतिनिधीहरुलाई सत्ता हस्तान्तरण एमालेको बटम लाईन भएकाले सो मुद्दा स्थापित गर्न एमालेले देशभरी कार्तिक २९ गते जनप्रदर्शन गर्न लागेको गैरेले बताए । भदौ २३ गते र २४ गतेको आन्दोलन भएका गतिविधीहरुलाई छुट्टाछुट्टै रुपमा छानविन गरी, अपराधिक गतिविधीमा संलग्नहरुलाई कानुनी कारवाही गर्नुपर्ने एमालेको माग रहेको एमाले नेता गैरेले बताए ।
वर्तमान सरकारले फागुन २१ गते निर्वाचन घोषणा गरेपनि वर्तमान अवस्थामा निर्वाचन हुने वातावरण नरहेको, सरकारले निर्वाचनमा भाग लिने दलहरुसँग नै वार्ता कुराकानी गर्न नखोजेको, शान्ती सुरक्षा दिनहुँ विग्रदै गएको, जेलमा रहेका आधा भन्दा बढी कैदीबन्दी फरार रहेको, प्रहरीका लुटिएका हतियार फिर्ता नभएको, प्रहरीको मनोबल गिरेको अवस्थामा स्वच्छ, निष्पक्ष र भयरहित अवस्थामा निर्वाचनको वातावरण नभएको एमाले पालिटिव्युरो सदस्य गैरेले जोड दिए । पत्रकार सम्मेलनमा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगरले वडा, पालिका हुँदै तानसेनमा जिल्ला स्तरीयजनसभा गर्न लागिएको जानकारी दिए । शनिबार दिउँसो १ बजे तानसेनको टुँडिखेलबाट विरोध र्याली शुरु भई जनसभामा परिणत हुने एमाले जिल्ला अध्यक्ष घर्तीले बताए ।
एमाले पाल्पाका प्रचार विभाग प्रमुख दिपक विश्वकर्माको सभापतित्वमा भएको पत्रकार सम्मेलन प्रचार विभाग उपाध्यक्ष मिलन विश्वकर्माको स्वागत र सचिव रेखीराम रानाको सञ्चालनमा भएको थियो ।


-1762576335.jpg)