Shittalpati
मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन

पाल्पा,  युनाइटेड मिसन अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सुरु गरिएको छ । तानसेन  नगरपालिका–१ मिसनमा रहेको अस्पतालले शुक्रबादेखि आधुनिक सिटी स्क्यान मेसिनबाट बिरामीहरूलाई सेवाको शुभारम्भ गरेको हो ।

सिटी स्क्यान सेवा प्रारम्भ भएसँगै जिल्लावाासी ह्दयघात जस्तो प्राण घातक समस्याका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको हल हुने विश्वास लिइएको छ । युकेको सम्परिटन पर्सको मुख्य सहयोगमा मेसिन सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ  । यस सेवाबाट विशेषगरी मस्तिष्क, छाती, पेट, हड्डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरूको उच्चस्तरीय परीक्षण सहज रूपमा उपलब्ध हुनेछ । विरामीको अवस्था हेरेर ३ हजार ५ सयदेखि १० हजारसम्म सेवा शुल्क लाग्ने छ । सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।  मन्त्रीले सारुले सिटी स्क्यानको सेवा सुरु भएसँगै यस क्षेत्रका नागरिकहरुलाई सहज हुने बताए । उनले अहिले मुटुको समस्या तथा ह्दयघातका कारण धेरै बिरामीले अकालमै ज्यान गुमाइरहेको भन्दै यस सेवाले त्यसलाई रोक्ने विश्वास व्यक्त गरे ।  अस्पतालले पाल्पासहित छिमेकी जिल्ला र भारतबाट आउने नागरिकहरुलाई प्रभावकारी सेवा दिएर बिरामीको विश्वास जितेको बताए । युएमएनका मेडिकल डिपार्ट ट्रसका अध्यक्ष डेविट रोजरले सेवाको भरपुर उपयोग गर्न सबैलाई आग्रह गरे । 

कार्यक्रममा अस्पताल सल्लाहकार समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल,स्वास्थ्य कार्यालयका  निमित्त प्रमुख, टुक प्रसाद पोख्रेल, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेना लगायतले अस्पतालले ढिलै भए पनि सेवा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै सेवा सफलताको शुभकामना व्यक्त  गरे । २४ सै घण्टा  सेवा उपलब्ध हुनेगरी सिटिस्क्यान सेवा सुचारु  गरिएको अस्पतालका निर्देशक रचेल कारखले बताईन् । सिटी स्क्यान सेवा थप भएसँगै अस्पतालका सेवाग्राहीले उच्च गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए । वि.सं. २०११ सालमा स्थापना भएको अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । हाल अस्पतालमा २० जना विशेषज्ञ चिकित्सिक कार्यरत रहेको भट्टराईले जानकारी दिए । अस्पतालले मुटु सम्बन्धी विशेषज्ञ सेवा, मातृशिसु सेवा लगायत अन्य नियमित सेवालाई विस्तार गरेको छ । अस्पतालले गत साउनमा प्रसुती सेवा (सुत्केरी सेवा) तर्फ समेत सेवा विस्तार गरेको थियो । १६ बेड क्षमताको प्रसुती सेवा सञ्चालन गर्दै आएको अस्पतालले २० बेड र क्याविन समेतको सेवा विस्तार गरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update