Shittalpati
आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

मनिषा आले

पाल्पा,कात्तिक कृष्ण चतुर्दशीका दिन आज लक्ष्मी र द्वारपाल कुकुरको पूजा गरी तिहार मनाइँदै छ । धनधान्य देवी लक्ष्मीको आराधना र कुकुरलाई अबिरमाला लगाइदिएर मनपर्ने खानेकुरा दिएर पूजा गर्ने चलन छ । आज घर–घरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ ।सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । सफासुग्घरर लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावलीगरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।आज साँझ युवतीहरू समूह बनाई घर–घरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घर–घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । यस्तै आजै बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने गरिन्छ । यसरी नरक बगाएमा नरक जान नपर्ने शास्त्रीय मान्यता छ । अर्कोतर्फ इमान्दारीपूर्वक घरको पहरेदारको रुपमा खटिने कुकुरलाई आज पूजा गरेर मिठा खानेकुरा खान दिएमा यमलोकको यात्रा गर्दा बाटोमा अवरोध नहुने धार्मिक विश्वास छ ।

काग तिहार मनाइयो

आइतबार बिहान कागलाई मिठामिठा खानेकुरा खान दिई पूजा गरेर काग तिहार मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीकै दिन आयुर्वेदका प्रणेता धनवन्तरी जयन्ती पनि मनाइएको छ । समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस मनाउने गरिन्छ । देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update