Shittalpati
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै

पाल्पा, ग्रामीण महिलाको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार, समानता र सशक्तीकरणका विषयलाई प्राथमिकतामा राखेर आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै छ । नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि यो दिवस मनाउन थालिएको हो ।

सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पु¥याउने पवित्र भावनाले यो दिवस मनाईन्छ । ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्यूनिकरणमा टेवा पु¥याउनु यो दिवसको प्रमुख उद्देश्य रहेको छ । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनका लागि ग्रामीण महिलाहरुको महत्वपूर्ण भूमिका रहने गर्दछ । तर नेपाल जस्ता विकासोन्मूख देशहरुमा भने सम्पति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच भने पुग्न सकेको छैन । ग्रामीण महिलाहरुलाई सशक्तिकरणका माध्यमबाट सक्षम नागरिकका रुपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने कुरामा दुई मत छैन । ग्रामीण महिलाले कृषि उत्पादन, पशुपालन, खाद्य सुरक्षा, परिवारको हेरचाह तथा ग्रामीण अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । उनीहरूको श्रम र योगदानले परिवारदेखि समग्र समाजको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पु¥याउँदै आएको छ । तर, यति महत्वपूर्ण योगदानका बाबजुद ग्रामीण महिलाले अझै पनि विभिन्न सामाजिक, आर्थिक तथा संरचनागत चुनौतीको सामना गर्नुपरेको छ । विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरू शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, वित्तीय पहुँच, प्रविधि तथा निर्णय प्रक्रियामा समान अवसरबाट वञ्चित हुने अवस्था अझै विद्यमान छ । भूमिमा स्वामित्वको कमी, पारिश्रमिकमा असमानता, घरेलु जिम्मेवारीको बढी भार र स्रोतसाधनमा सीमित पहुँचले उनीहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणमा चुनौती थपेको छ ।

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसले ग्रामीण महिलाको श्रमको उचित मूल्या·न, उनीहरूको अधिकारको संरक्षण तथा विकासका हरेक क्षेत्रमा समान सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ । यस दिवसका अवसरमा ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने, सीपमूलक तालिम प्रदान गर्ने, उद्यमशीलताको विकास गर्ने तथा कृषि र अन्य उत्पादनमूलक क्षेत्रमा उनीहरूको पहुँच विस्तार गर्ने विषयमा जोड दिनुपर्ने देखिन्छ । नेपालजस्तो कृषिमा आधारित अर्थतन्त्र भएको मुलुकमा ग्रामीण महिलाको भूमिका अझ महत्वपूर्ण छ। खेतीपातीदेखि उत्पादनको व्यवस्थापन र बजारीकरणसम्म उनीहरूको सक्रिय सहभागिता रहँदै आएको छ। त्यसैले ग्रामीण महिलाको क्षमता, सीप र अनुभवलाई उपयोग गर्दै उनीहरूलाई विकासको मूल प्रवाहमा समेट्नु आवश्यक छ । ग्रामीण महिलाको जीवनस्तर सुधार गर्न राज्यका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, महिलामैत्री अवसर सिर्जना गर्नुपर्ने र स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने सरोकारवालाहरूको जोड रहँदै आएको छ । 

दिवस केवल उत्सव मनाउने दिन मात्र नभई ग्रामीण महिलाले भोगिरहेका समस्या पहिचान गर्ने, उनीहरूको योगदानको कदर गर्ने र समान अवसर तथा सम्मान सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि हो । ग्रामीण महिलाको सशक्तीकरणबिना दिगो ग्रामीण विकास र समावेशी समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने भएकाले उनीहरूको अधिकार, सम्मान र अवसर सुनिश्चित गर्नु आजको आवश्यकता हो ।


 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update