Shittalpati
नारी उन्नयनद्वारा तीज गीत लोकापर्ण तथा व्यक्तित्व सम्मान

पाल्पा, जिल्लामा क्रियाशिल रहँदै आएको साहित्यिक संस्था नारी उन्नयन तथा विकास प्रतिष्ठानले आमाहरुको तीज गीत, खोजमूलक कृति लोकापर्णसँगै साहित्यिक व्यक्तित्वलाई सम्मान गरेको छ । प्रतिष्ठानले एक औपचारिक कार्यक्रमको आयोजना गरि कृति लोकापर्ण तथा विभिन्न व्यक्तित्वहरुलाई आइतबार सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि ९४ वर्षीया फत्तकुमारी नेपाल, विशिष्ट अतिथि संविधान सभा सदस्य नारायणी शर्मा, सामाजिक व्यक्तित्व लिला कार्कीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए । जिल्लाका ९ वटा स्थानीय तहको मौलिक संस्कृतिलाई समेटिएर आमाहरुको पिडा, वेदनालाई पुस्तकमा उतारिएको छ ।

पुस्तकमा ३३ जना आमाहरुले रचना गरेका ४६ वटा गीतहरु समावेश गरिएको छ । पुस्तकको समीक्षा गर्दै साहित्यकार सरिता रेग्मीले आमाहरुका दुःख, पिडा र वेदनालाई गीतमार्फत चित्रण गर्न खोजिएको बताईन् । गीतले मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएको उनले बताईन् । समीक्षक रेग्मीले पुस्तक, पठनीय, संग्रहनिय, मननीय, अभिलेखिकरणीय र उदाहरणीय रहेको धारणा व्यक्त गरिन् । अर्को समीक्षक गुणवती केसीले गाउँले परिवेशमा प्रयोग गरिने कुराहरुलाई गीतमार्फत प्रस्तुत गरिएको बताईन् । सोही अवसरमा प्रतिष्ठानले विभिन्न क्षेत्रबाट साहित्यको विकास र विस्तारमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले सामाजिक तथा साहित्यक व्यक्तित्व सालिकराम पाण्डे, लीला कार्की,राधा भारती, साहित्यकारहरु रामराज ज्ञवाली,मन गहिरे र सारधा ढकाललाई सम्मान गरेको हो ।

कार्यक्रममा विशिष्ट अतिथि संविधान सभा सदस्य नारायणी शर्मा, त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक भट्टराई, सम्मानित व्यक्तित्वहरु लिला कार्की, सालिकराम पाण्डे, मन गहिरे, रामराज ण्ज्ञवाली,साहित्यकार टंक पन्त, सारधा खनाल, रामप्रसाद अर्याल, पत्रकार भोजराज भट्टराई लगायतले प्रतिष्ठानले मौलिक लोक संस्कृतिको सरंक्षणमा देखाएको चासो र सक्रियता अत्यन्त प्रशंसनिय रहेको बताए । प्रतिष्ठानकी अध्यक्ष लक्ष्मीमा ज्ञवालीको अध्यक्षता, प्रतिष्ठानकी विजया पन्तको स्वागत, सदस्य तुलसी नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update