Shittalpati
फरक क्षमताका विद्यार्थीसँगै रमाए पाल्पाली कलाकार

पाल्पा, सधैँ मेला महोत्सवका स्टेज कार्यक्रमहरुमा देखिने कलाकारहरु यति बेला दिन, दुखी, असहाय, फरक क्षमताका व्यक्तिहरु माझ पनि देखिन थालेका छन् । पाल्पाको कला संस्कृतिको संरक्षणमा क्रियाशिल रहँदै आएका पाल्पाली कलाकारहरुले यति बेला फरक क्षमताका व्यक्तिहरु, वृद्धवृद्धा र असहायहरु समक्ष पुगी आत्मियता साटासाट र सक्दो सहयोग गर्दै आएका हुन् ।

पाल्पाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पाले विगतमा कला संस्कृतिको संरक्षणसँगै वातावरण सरसफाई, वृद्धवृद्धाहरु र असहायहरुको उद्धारमा रचनात्मक कार्य गर्दै आएको छ । आफ्नो स्थापना दिवसको अवसरमा होस् वा अन्य समयमा नै किन नहोस् प्रतिष्ठानले रचनात्मक क्रियाकलाहरु गर्दै आएको पाइन्छ । शनिबार पनि प्रतिष्ठानले आफ्नो स्थापना दिवससँगै लोकदोहोरी दिवसका अवसरमा सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेन– ७ का फरक क्षमताका विद्यार्थीसँग एक छाक खाना सहित विशेष कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानमा आवद्ध कलाकारहरुले केन्द्रमा अध्ययनरत फरक क्षमताका विद्यार्थीहरुसँगै बसेर खाना खानुको साथै दोहोरी गीत समेत गाएका छन् । विद्यार्थी र कलाकारहरु बिच अत्यन्त सौहार्दपूर्ण वातावरणमा दोहोरी चलेको थियो । पाल्पाली कलाकारहरु रेखा विष्ट, ममता कोइराला, कमल भट्टराई, अनु खनाल, विजय बम्डेल, तिर्सना थापा, सुमित कुंवर, अनु गोतामे, रामचन्द्र थापा, धनि खाम्चा लगायतले विद्यार्थीहरुसँग दोहोरी गाएर रमाएका थिए ।

कलाकार र फरक क्षमताका व्यक्तिहरु बिचको सम्बन्धलाई सुमधुर बनाउन कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष रेखा विष्टले बताईन् । उनले फरक क्षमता (दृष्टिविहिन, शारिरीक अपाङ्गता) का व्यक्तिहरुमा पनि विलक्ष्ण प्रतिभा लुकेको हुने भन्दै त्यस्ता व्यक्तिहरुलाई सम्मान र हौसला प्रदान गर्नुपर्ने बताईन् । कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीले फरक क्षमताका व्यक्तिहरुको सम्मानमा प्रष्ठिानले देखाएको सद्भावको प्रशंसा गरे । उनले समाजमा अझै पनि फरक क्षमताका व्यक्ति, वृद्धवृद्धा, असहाय, र दिनदुखीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै प्रतिष्ठानले गरेको कार्यक्रम अनुकरणीय रहेको बताए । रायमाझीले आगामी दिनहरुमा पनि लोक संस्कृतिको संरक्षणसँगै सामाजिक र रचनात्मक कार्य गर्न प्रतिष्ठानलाई आग्रह गरे ।

कार्यक्रममा सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्रका व्यवस्थापक सन्दिप भट्टराईले फरक क्षमताका विद्यार्थीहरुलाई प्रतिष्ठानले देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले सबैको सहयोग र स्दभावले नै अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार र शिक्षित बनाउने उद्देश्यले २०६७ सालमा केन्द्र स्थापना गरी काम गर्दै आएको बताए । सोही अवसरमा प्रतिष्ठानले फरक क्षमताका विद्यार्थीहरुका लागि नगद ६ हजार आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानका अध्यक्ष रेखा विष्टको अध्यक्षता, कोषाध्यक्ष अनु खनालको स्वागत, सचिव कमल भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update