Shittalpati
पाल्पाली साहित्यकार रेग्मीका दुई कृति काठमाडौंमा विमोचन

पाल्पा, पाल्पाली साहित्यकार तथा समीक्षक पुस्कर अथक रेग्मीका दुई कृति काठमाडौंमा विमोचन भएका छन् । रेग्मीद्वारा लिखित ‘अमर पात्र’ र ‘अर्पण’ कृति शनिबार एक भव्य समारोहका बिच विमोचन गरिएको हो । पाल्पा साहित्य समाज र पाल्पाली संगम, साहित्य विभाग काठमाडौंको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा कृति विमोचन गरिएको छ । उक्त कृतिहरुको मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विमोचन गरेका थिए । कृतिको विमोचन गर्दै पूर्व अध्यक्ष रेग्मीले पाल्पाको इतिहासलाई कृतिहरुले उजागर गरेको बताए । उनले साहित्य समाजको तस्विर भएकाले पनि लेखक रेग्मीले कृतिमार्फत जिल्लाको इतिहासलाई उजागर गर्ने प्रयास गरेको धारणा व्यक्त गरे ।

कार्यक्रममा पाल्पाली संगमका अध्यक्ष पदम न्यौपाने, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले साहित्यको विकासका लागि साहित्यकारहरुको सम्मान अपरिहार्य रहेको बताए । उनीहरुले साहित्यकारहरुका कृतिहरुलाई जीवन्त राख्न साहित्य संघ–संस्थाहरुले उल्लेखनिय कार्य गर्दै आएको धारणा व्यक्त गरे । कार्यक्रममा प्राडा तथा समीक्षक सावित्री कक्षपती मल्लले ‘अमर पात्र’ कृति माथि समीक्षा गरेकी थिइन् भने समीक्षक शान्त शाक्यले ‘अर्पण’ कृति माथि समीक्षा गरेकी थिइन् । कृति ‘अमर पात्र’भित्र पाल्पाका मणिमुकुन्द सेन, कर्णेल उजिरसिंह थापा, काजी अमरसिंह थापा र राजा पृथ्वीपाल सेनकालीन अवस्थाको नाटक संग्रहित गरिएको छ । त्यस्तै ‘अर्पण’ कृतिमा साहित्यकार शुभ श्रेष्ठको जीवनी रहेको छ ।

लेखक रेग्मीले उपन्यास कविता, कथा, जीवनी, गजल, अनुसन्धान लगायतका १४ वटा कृतिहरु प्रकाशित गरिसकेका छन्, भने दर्जानौ साहित्यिक सम्मानबाट सम्मानित भएका छन् । साहित्यकार रेग्मीले यस अघि अफसोच, अनुसन्धान अवलोकन, अठार लघुकथा संग्रह, अग्रदूत, अनुसन्धान सिद्धान्त, आमा, अमृताञ्जली, अन्तराल, अन्ततः, अनुरोध, अलग बाटो, अक्षता लगायतका कृतिहरु प्रकाशित गरिसकेका थिए । उनी नेपाली भाषा, कला, साहित्य र साँस्कृतिक क्षेत्र, शैक्षिक क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रहँदै आएका छन् । तानसेन बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख समेत रहेका साहित्यकार रेग्मी जिल्लाका विभिन्न समाजिक संघ संस्थाहरुमा पनि क्रियाशील छन् । कृति विमोचपछि पछि शित्तलपाटी डटकमसँगको कुराकानीमा रेग्मीले अगामी दिनमा पनि पाठकहरुको रुची र आवश्यकता अनुसार कृतिहरु प्रकाशित गर्दै जाने बताएका छन् । सोही अवसरमा साहित्यक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई समेत सम्मान गरिएको छ । साहित्यकार प्रा.गोपीकृष्ण शर्मा र साहित्यकार प्रकाश प्रधानाङ्गलाई सम्मान गरिएको पाल्पा साहित्य समाजले जनाएको छ । कार्यक्रममा डा.प्रकाश राज रेग्मी, सर्जुमान लिगल, गोपीकृष्ण शर्मा, पत्रकार जीवन भण्डारी लगायतले कृतिको सफलताको शुभकामना व्यक्त गरेका थिए । पाल्पाली संगम साहित्य विभागकी प्रमुख सीता विष्ट कार्की (सीवीका) को सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update