Shittalpati
लुम्बिनी सभागृहको काम अन्तिम चरणमा

निरा गौतम
रुपन्देही, बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान गृह’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि पहिलो चरणको काम थपिएको म्यादभित्रै करिब सकिएको कोषले बताएको छ । विसं २०७४ को बुद्ध जयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको सोही निर्देशनानुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोहहरु आयोजना गर्दै आएको छ । सँगसँगै स्थायी सभाहल निर्माणको काम पनि शुरु भएको थियो । स्थायी सभाहलअन्तर्गत पहिलो चरणको काम करिब सकिन लागेको छ भने दोस्रो चरणको काम पनि शुरु भएको छ ।

लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण शुरु गरेको हो । दोस्रो चरणको काम सम्पन्न हुँदा यो सभाहल नेपालकै ठूलो र अत्याधुनिक सभाहलका रूपमा तयार हुने छ । सभाहल दक्षिण एशियामै पहिलो हुने कोषले जनाएको छ । यो सभाहल लुम्बिनी गुरुयोजनामा समावेश नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र आवश्यकताका आधारमा निर्माण गरिएको कोषको भनाइ छ ।

पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा २०७५ साल वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यो सभाहलको शिलान्यास गरेका थिए । सभाहलसहितका संरचनाहरु बनाउन अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले ३१ करोड ७९ लाखमा ठेक्का पाएको थियो । यहाँ सभाहल मात्रै ३८६.८८ वर्गमिटरको बन्दैछ । पहिलो चरणमा सभाहल, दुईवटा शौचालय र कन्ट्रोल रुम करिब सम्पन्न भएका छन् । हालसम्म सभाहलको भुइँ, छानो फल्स सिलिङ र अन्य फिनिसिङका काम सकिएका छन् । दोस्रो चरणअन्तर्गत साभहलको वरिपरि पार्टिसन गर्ने काम शुरु भएको छ । त्यस्तै दोस्रो चरणमै रोष्टममा उभिएर गरिने भाषणलाई १६ वटा भाषामा उल्था हुने अत्याधुनिक प्रविधि जडान गरिनेछ । आगामी बुद्ध जयन्तीको मूल समारोह सोही सभाहलमा आयोजना गर्न मिल्ने गरी काम भइरहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए । “कोरोना महामारीका कारण बुद्ध जयन्तीमा कस्तो कार्यक्रम गर्ने तय भएको छैन तर कार्यक्रम यही हलमा गर्ने योजना बनाएका छौँ’, सदस्यसचिव शाक्यले भने । आगामी डेढ वर्षभित्र दोस्रो चरणका सबै काम सकेर सभाहल हस्तान्तरण गर्ने योजनानुसार काम भइरहेको बाबुल जेभीका प्रबन्धक सन्तोष अधिकारीले बताए । कोरोना महामारीका कारण पहिलो चरणको काम निर्धारित समयमा सम्पन्न गर्न नसकिए पनि दोस्रो चरणको काम समयमै सम्पन्न हुने उनको अपेक्षा छ । अड्तीस हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको छानो ५० एमएमको इपिएस स्यान्डबीच प्यानलको ट्रसबाट बनेको छ । सभाहलको उचाइ १२.३३ देखि २०.४९ मिटरसम्म छ । दक्षिण एशियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको प्रयोगबाट सभाहल डिजाइन गरिएको कोषले बताएको छ । सभाहलको भुइँ र पिलरहरुमा ढलानपछि मोजाइक प्रयोग गरिएको छ । कोषका वरिष्ठ इन्जिनीयर सरोज भट्टराईका अनुसार कोरियाली गुम्बा शैलीको गोलाकार छानो र छानोको बाहिर केन्द्र भागमा बुद्धका दुईवटा आँखा (स्वयम्भूका दुई आँखा) को आकृति बनाउने गरी डिजाइन गरिएको छ । दोस्रो चरणमा विशिष्ट पाहुनाका लागि प्रतिक्षा कक्ष, कम्पाउन्ड वाल, ल्यान्ड स्केप, पार्किङ, विद्युतीकरण, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन, सौन्दर्य अभिवृद्धि, दुई शौचालय भवनलगायतका जनरल सिभिल वर्कका काम शुरु भएका छन् । यो कामका लागि झण्डै ४० करोड लाग्ने अनुमान छ । कार्यक्रम गर्ने सुविधा सम्पन्न हल नभएकै कारण यहाँ केन्द्रित अधिकांश कार्यक्रम लुम्बिनीबाहिर आयोजना हुने गर्छन् । सभाहल निर्माणपछि यो क्रम रोकिने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने लुम्बिनी होटेल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । ‘सभाहल नभएकै कारण लुम्बिनीमा हुनुपर्ने ठूला ठूला गोष्ठी काठमाडौँमै आयोजना हुन्छन् । यहाँका स्थानीयवासीलाई जानकारीसमेत हँुदैन । तसर्थ सभाहल निर्माण हुनु यस क्षेत्रका लागि स्थानीयवासी र व्यवसायीका लागि पनि खुशीको कुरा हो’, अध्यक्ष श्रेष्ठ भन्छन् । लुम्बिनी विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र हो । देशको प्रमुख पर्यटकीय केन्द्र बनेको यो पवित्रस्थलमा बर्सेनि स्वदेशी र विदेशी गरी करीब १६ लाख पर्यटक आउँछन् । –रासस

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update